सीसी क्यामेराबाट कर्णाली एक्स्पोको निगरानी हुने

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर २३ देखि सञ्चालन हुने कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा २० वटा अन्तर्राष्टियसहित ३ सय ३० स्टल दर्ता भएका छन । मेलामा चीन, भारत, बंगालादेश, पाकिस्तान तथा थाइल्याण्डका गरी अहिलेसम्म २० वटा अन्तर्राष्ट्रिय कम्पनीका स्टल दर्ता भैसकेको स्टल व्यवस्थापन समितिका संयोजक धनबहादुर रावतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्टलका लागि भारत, बंगलादेश, थाइल्याण्ड, पाकिस्तानमा रहेका इभेन्ट व्यवस्थापक कम्पनीसंग समन्वय गरी स्टल बुकिङ गरिएको उनले जनाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी जम्मा ४ सय स्टल रहने मेलामा हालसम्म नेपालभित्रका ३ सय १० स्टल दर्ता भैसकेको संयोजक रावतले बताए । मेलामा बिदेशी कम्पनीका ब्राण्डेड तयारी पोशाक, बिद्युतीय सामग्री, छालाका सामाग्रीहरु, फर्निचर तथा मार्बलहरुको स्टलको ब्यबस्था मिलाइएको उनको भनाई छ । प्रदर्शनीले विभिन्न देशका व्यवसायीहरुबीच व्यापार विस्तार, प्रविधि हस्तान्तरण, आयत निर्यात तथा पर्यटन प्रदद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको आयोजकसंघका महासचिव गोपालकृष्ण गिरीले बताए ।

यसैबीच मेलामा रहने स्टल तथा अवलोकनका लागि आउनेहरुको सुरक्षाका लागि निजी सुरक्षाकर्मी र प्रहरी परिचालन गर्नुका साथै मेलास्थल वरपर सीसी क्यामेरापनि जडान गरिने भएको छ । चोरी, लुटपाट र बालबच्चा हराउने समस्या समाधानका साथैस्टलहरुकोसुरक्षानिगरानीका लागि कम्तिमा ४० वटा सीसी क्यामेरा जडान गर्न लागिएको महासचिव गिरीले बताए । जिविस अगाडिको खुल्ला मैदानमा हुने चौरमा मंसिर २३ देखि पौष ३ गतेसम्म यस क्षेत्रकै पहिलो अन्तर्राष्टिय मेलाका रुपमा कर्णाली एक्स्पो सञ्चालन हुन लागेको हो ।

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार १९:२९