संविधान संशोधन प्रस्ताव अघि नबढे स्थानीय चुनावमा जान्छौं : प्रधानमन्न्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक अघि बढ्न नदिए सरकार स्थानिय चुनावमा जाने बताएका छन् ।  प्रस्तावको पक्षमा संघीय गठबन्धन र त्यसमा आबद्ध मधेसी मोर्चा नआए स्थानीय तहको चुनाव घोषणा गरेर अघि बढ्ने बताएका हुन् ।

शनिबार बिहान बसेको माओवादी हेडक्वार्टर बैठकमा पार्टी नेताहरूले चुनाव मिति घोषणा गरेर अघि बढ्न दबाब दिएपछि प्रधानमन्त्री दाहालले चुनावतिरै सरकारको तयारी रहेको बताएका हुन् ।

दाहालले संशोधन विधेयकको पक्षमा गठबन्धन र मोर्चाका नेताहरू नउभिएमा त्यसलाई अघि नबढाइने बताएका थिए । दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागि नेताहरु भन्छन्, ‘संशोधन विधेयक मोर्चाको सहमतिमै अघि बढाएको हो, उनीहरू नै आएनन् भने यो प्रस्ताव अघि बढदैन, निर्वाचन मिति घोषणा हुन्छ ।’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भएको बताए । ‘मधेसी पार्टीहरू सहमतिमा आउनु हुन्छ भने त्यहीअनुसार अघि बढ्ने, सहमति गर्नु भएन भने पनि अब लामो समय कुर्ने स्थिति रहन्न, निर्वाचन मिति घोषणा गरेर जानुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ उनले भने ।

सत्ता साझेदार र प्रमुख विपक्षी एमालेसँग छलफल गरेर निर्वाचन मिति घोषणा हुने उनले बताए । ‘मोर्चाले संशोधन विधेयकमा समर्थन जनाएनन् भने त्यतिबेला विधेयकलाई के गर्ने भन्नेबारे निर्णय गरेर अघि बढ्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘प्रमुख दलहरूबीचको समझदारीमा निर्णय गरेर निर्वाचनमा जानुको विकल्प अब छैन ।’

प्रधानमन्त्री दाहालले बैठकमा संविधान संशोधनकै पक्षमा मोर्चाका नेताहरू आउने विश्वास पनि व्यक्त गरेका थिए । ‘कुनै षड्यन्त्र भए नआउन पनि सक्छन्,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘त्यस्तो षड्यन्त्र नहोला भन्न पनि सकिन्न ।’

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार २०:०३