मन्त्रीलाई सरकार छाड्न एमालेको निर्देशन

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले आफ्ना तीन सांसदलाई मन्त्रीबाट राजीनामा दिन निर्देशन गरेको छ । एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी मन्त्रीलाई बाहिरिन निर्देशन दिएको हो । गएको वैशाख ४ गते सांसदबाट पदमुक्त भएपछि सरकारमा सहभागी भएका उनीहरू सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्वहाली भएका थिए । शुक्रवार बसेको एमाले संसदीय दलको बैठकले ती सांसदहरूलाई सरकारबाट फिर्ता गराउने निर्णय गरेको छ ।

एमाले सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो । वैशाख ३ गते पार्टीको निर्देशनविपरीत उनीहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कारबाहीमा परेका थिए । सर्वोच्चको अन्तरिम आदेशले उनीहरू पुनःपदमा बहाली भएका छन् । ज्वालाबाहेक अरु तीन तीनजना माओवादी नेतृत्वको सरकारका मन्त्री छन् । सांसदमा पुनर्वाहली भएसँगै कर्णाली प्रदेशसभा सचिवालयले मन्त्रीसमेत रहेका तीनैजनालाई प्रतिपक्षीको लहरमा सिट व्यवस्थापन गरेको छ ।

सर्वोच्चले जेठ २७ गते पुनर्वहालीको आदेश गरेपछि एमाले संसदीय दलले मंगलवार र शुक्रवार भएका दुई वटा बैठकमा सहभागी हुन आमन्त्रण गरेको थियो । ज्वालाबाहेक अरु भने बैठकमा सहभागी भएका छैनन् । सरकारमा सहभागी एमालेका तीनैजना सांसद्ले सर्वोच्चले नै दसौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिएको अवस्थामा केपी ओलीले आफूहरूलाई कारबाही र फिर्ताको निर्देशन दिने अधिकार नभएको बताउने गरेका छन् ।

अहिले उनीहरूसँग सरकारमा सहभागी हुने वैधानिक आधार नभएकाले दलको बैठकले राजीनामा दिन निर्देशन दिएको एमालेका प्रमुख सचेतक गुलावजंग शाहले बताए । कारबाहीमा परेर सांसदबाट पदमुक्त भएको अवस्थामा सरकारमा सहभागी भए पनि अब पनि माओवादी नेतृत्वको सरकारमा बसिराख्नु दलीय आचरण विपरीत हुने उनले जनाए । सर्वोच्चको आदेशपछि उनीहरू वैधानिक रूपमा एमालेका सांसद भइसकेकाले दलको निर्णयविना सरकारमा सहभागी हुन नमिल्ने शाहको भनाइ छ ।

प्रकाशित मितिः   ५ असार २०७८, शनिबार ०९:२०