पाटनमा बेपत्ता भएका भेटिए
जाजरकोटको कुसे पाटनमा अविरल वर्षा र हावाहुरीका कारण बेपत्ता भएकाहरू भेटिएका छन् । पाटनमा हराएका सातै जनाको सकुशल उद्धार गरिएको हो । शुक्रवार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूको उद्धार गरेको जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । हराएकाहरूको चार दिनपछि फेला परेका हुन् ।
‘पाटनमा हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ, उनीहरू चिसोले कठाङग्रिएको अवस्थामा भेटिएका छन्,’ उद्धार टोलीलाई उधृृत गर्दै डीएसपी थापाले भने, ‘केही तल झारेर आगो तपाउने, खाना दिने र प्रारम्भिक उपचार भैरहको छ ।’ कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैंसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए । बेपत्ता रहेका कुसे गाउँपालिका–८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्र खड्का, २५ वर्षीय बिक्रम खड्का, १८ वर्षीय भवीन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मिमबहादुर खड्का र कुसे–९, का ४० वर्षीय कृष्ण रोकायाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरू घर र्फकँदै गर्दा हावाहुरी र वर्षा आएपछि सम्पर्कविहीन भएका थिए । हराएका व्यक्तिका आफन्तहरू र प्रहरीले बुधवारदेखि खोजि कार्य थालेका थिए । पाटनमा चराउन लिइएका गाई, बाख्रा र भैंसीको अवस्था भने एकीन नभएको प्रहरीले जनाएको छ । कुसे पाटन चार हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा रहेको छ ।
प्रकाशित मितिः ५ असार २०७८, शनिबार ०९:२३
साझा बिसौनी ।