मौसमी प्रकोपले जनधनको क्षति

मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षाका कारण आएको बाढी–पहिरोले धनजनको क्षति गर्न थालेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालीकोट, जुम्ला र हुम्लामा बाढी र पहिरोले विपत्ति निम्त्याएको हो । मनसुनी वर्षाले जनधनको क्षति गर्नुका साथै मुख्य राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । विगत दुई–तीन दिनको अवधिमा प्रदेशका अधिकांश जिल्ला बाढी–पहिरोको प्रकोपबाट प्रभावित भएका छन् ।

कालीकोट, खाडाचक्र नगरपालिका–६ मोल्फास्थित कर्णाली राजमार्गमा पहिरो जाँदा सोही नगरपालिका–६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ । सल्यान, कालिमाटी गाउँपालिका–४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका–१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा पहिरोमा च्यापिएर घाइते भएकी छन् । पहिरोले कालिमाटी–बोटेचौर सुर्खेत जाने सडक पूर्णरूपमा अवरोध भएकाले खुलाउन पहल भइरहेको छ । त्यस्तै, दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा ढुंगासहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको दहीखोला, गगने खोला, पिली, रारालिहीलगायत ठाउँमा पनि पहिरो खसेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार अविरल वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको हो । ‘पहिरो खसेको ठाउँमा पन्छ्याउने काम भइरहेको छ’, उनले भने, ‘सडक डिभिजन कार्यालय जुम्लाका डोजर परिचालन गरी बाटो खुलाउने प्रयासमा छौं । सडकमा पटक–पटक पहिरो जाँदा समस्या भएको छ ।’ पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ भने मालबाहक सवारी साधन बाटोमै अलपत्र परेका छन् ।

दैलेख, आठबिस नगरपालिका–१ रामाघाटस्थित कर्णाली नदीको बहाब बढेको छ । नदीको सतह बढेपछि जोखिममा परेका ४५ घरधुरीका दुई सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी चौकी पाल्तडाबाट खटिएको टोलि र स्थानीय जनप्रतिनिधिहरूसँगको समन्वयमा उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको हो । हुम्लाको सिमकोट गाउँपालिका–१ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा पहिरो गएको छ । पहिरोले ठेहे सिमकोट सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । साथै सोही ठाउँको रलिङ खोलामा पानीको बहाव बढेपछि माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ घरधुरीका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै, हुम्ला, नाम्खा गाउँपालिका–१ स्थित ताग्रुखोलामा आएको बाढीले फलामको ट्रसब्रिज पुल बगाउँदा सिमकोट–हिल्सा जोड्ने सडक पूर्णरूपमा अवरोध भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१ र २ को सीमाना पर्ने गोचे खोलामा बिहीवार राति आएको बाढीले सुर्खेत–दाङ सडक खण्ड अवरोध पारेको छ । बाढीले जोखिम रहेका सोही नगरपालिका–१ बस्ने रामबहादुर डाँगीको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी, जुम्लाको पातारासी गाउँपालिकाको टुङटुङ लेकको पहिरोमा परी चार जना सम्पर्कविहीन भएका छन् । पातारासीको लेखीढुंगा टुङटुङ लेकमा पहिरोमा परेका उनीहरू बुधवारदेखि बेपत्ता भएका हुन् । पहिरोमा परेका व्यक्तिको खोजीका लागि आफन्तजन उक्त स्थानतर्फ गइरहेको प्रहरीले जनाएको छ । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले सम्पर्क हुन सकेको छैन ।

घाइतेमध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उद्धृत गर्दै जुम्लाका प्रहरी प्रमुख दानबहादुर थापाले बताए । अरू दुई जना घाइतेको नाम खुलिसकेको छैन । उनीहरू केही समय पहिले जडीबुटी कोर्न पाटन गएका थिए । निरन्तर वर्षा भएपछि गाउँ फर्कन थालेका उनीहरू पहिरोमा परेका हुन् । पहिरोमा परेकाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भए पनि मौसम अनुकूल नहुँदा समस्या भएको छ । उक्त स्थानमा पुग्न जिल्ला सदरमुकामदेखि हिँडेर तीन दिन लाग्छ ।

प्रकाशित मितिः   ५ असार २०७८, शनिबार ०९:२९