छाउगोठ होइन अब छाउमहल

छाउगोठ भित्रै महिलाहरूले ज्यान गुमाएका घटनाहरू प्रशस्तै सुनिन्छन् । कहिले धुँवाले निसास्सिएर ज्यान गुमाउँछन्, कहिले आगोले जलेर । सर्पले डसेर मृत्युवरण गर्न बाध्य भएका घटनाहरू सञ्चारमाध्यमका समाचारमै सीमित हुन्छन् । केही समय चर्चा हुन्छ अनि बिर्सिइन्छन् । बर्खाको समयमा सर्पले डसेर कतिपय ‘छाउपणी’का ज्यान जानुलाई पनि नौलो मानिदैन यहाँ । के कारणले मृत्यु भयो भन्ने थाहै नपाएर पनि छाउगोठमा महिलाहरूका ज्यान गइरहेका हुन्छन् ।

‘छाउ’ भएको समयमा घरदेखि टाढाको असुरक्षित छाउगोठमा एक्लै रात बिताउनु पर्ने हुँदा महिलाहरूमाथि यस्ता घटनाहरू हुने गरेको कुरामा दुईमत छैन । यति मात्रै होइन, छाउगोठभित्रै बलात्कारका घटनाहरू पनि भएका छन् । एक्लै बसेको देख्दा अपराधिहरूको योजना यी महिलाहरूमाथी बुनिने गर्छ । यस्ता घटना भएका समाचारहरू त हामी जति पनि सुन्छौं । तर छाउगोठमा छाउपणीलाई बलात्कार गर्न जाने पुरुषहरूलाई ‘छाउ लागेर’, सुकेर वा बिरामी भएर मृत्यु भएको समाचार त हामीले अहिलेसम्म सुनेका छैनौं । समाजका अगाडि छाउपणीलाई छुन नमिल्ने, छिःछि र दुर–दुर गर्ने तर समाजको आँखा छलेर अनैतिक काम गर्न तम्सिनेहरूका बारेमा पनि हामी सुन्न चाहन्छौं ।

यसै पनि छाउ भएको बेलामा शारिरिक कमजोरी भएको हुन्छ । छाउपणी महिलाको तल्लो पेट दुख्ने र ढाड दुख्ने त प्रायः सबैलाई हुन्छ नै । कसैलाई कम र कसैलाई बढिको कुरा मात्र हो । यो समयमा खान मन नलाग्ने, रिङ्गटा लाग्ने, हात गोडा गले जस्तो हुने र जीउमा आलस्यता बढ्ने जस्ता लक्षणहरू देखिन्छन् । जाँगर नहुने भएकोले काम गर्न मन लाग्दैन । यस्तो बेलामा खाना पनि त्यति रुच्दैन । कसैलाई त सरसफाईमा ध्यान नदिइएका कारण योनीमा संक्रमण हुने हुन्छ ।

मध्ये तथा सुदुरपश्चिमका महिला दिदीबहिनीहरूलाई त झन् यस्तो बेलामा घर बाहिरको कडा काम गर्नु परिहरेको हुन्छ । जङ्गल जाने, दाउरा र घासका भारीहरू बोकेर ल्याउने, खेतबारीमा काम गर्ने, धान कुट्ने, खेत खन्ने जस्ता कडा परिश्रम पर्ने काम गर्नु पर्छ । कामको चापले आफ्नो ज्यानको सरसफाई र आराम गर्ने समय पनि उनीहरूलाई मिल्दैन । यस्तो शारिरीक कमजोरीको बेलामा गर्नु परेको कडा परिश्रमका कारण महिलाहरूको सरीर झन् कमजोर हुन्छ नै । यसको असर पाठेघरसम्म पनि पर्न जान्छ । जसले गर्दा पाठेघर तल झर्ने र खस्ने जस्ता जोखिम पूर्ण अबस्थाको सिर्जना हुन जान्छ ।

त्यसैले छाउ भएको बेलामा सरीरलाई स्याहार, आराम, पोषिलो खाना, सरसफाईका साथै मायाको पनि अत्यन्तै आवश्यक पर्दछ । तर यहाँका महिलाहरूलाई यी सबै कुराको बावजुद पनि कडा मिहिनेतमा खटिनु पर्ने बाध्यता छ । यहाँ छाउलाई तिरस्कार गरिन्छ । सरसफाई गर्नको लागि प्रयाप्त कपडा र पानी पनि उनीहरूसँग हुँदैन । कसैले त एउटा फरियालाई च्यातेर दुईवटा बनाइएको हुन्छन् । एक टुक्रा धुँदा अर्काे टुक्रा लाउने । छाउगोठमा बस्दा सुत्यो भने खुट्टा लामो तानेर सुत्न मिल्ने ठाँउ पनि हुँदैन । त्यहि सानो र साँगुरो ठाँउमा कहिलेकाँही त पाँच÷छ जना छाउपणीहरू एकै साथ बस्नु पर्ने बाध्यात्मक अवस्था हुन्छ । ओढ्ने र ओछ्याउने लुगा कपडा पनि प्रयाप्त मात्रामा दिइएको हुँदैन । हिमाली भेकमा अत्याधिक चिसो हुन्छ । हिउँ परेको बेलामा पनि एउटा छालाले काम चलाउनु पर्छ । त्यो पनि हुनेले मात्र । नत्र एउटा बोराको भरमा छाउका दिन बिताउनु पर्छ । तलबाट भुईंको चिसो र माथिबाट ओढ्ने नभएको चिसोले जिउ कक्रक्क पार्छ । जाडोबाट बच्नको लागि आगो बाल्ने ठाउँ पनि हुँदैन त्यहाँ । सयौं पीडाहरू ओढ्दै र हजारांै दुःख कष्टहरू ओछ्याउँदै हाम्रा महिलाहरूको दैनिकी बित्छ । झनै छाउ भएको बेलामा त संकटमाथि संकटहरूसँग मुकाविला गरेर ज्यान जोगाउनै मुस्किल ।

हामी आफ्नो आमालाई माया गर्छौं । हरेक प्राणीहरूको लागि संसारमा आमाभन्दा प्यारो अरु सायदै होला । मान्छेमा अझै बढी । यहाँनिर मैले भन्नै पर्ने हुन्छ, हामी आमालाई यति माया गर्न सक्नेले आमाको छाउलाई किन माया गर्न सक्दैनौं त ? किन यो विडम्बना हामी माझ जबरदस्त भएर बसेको छ ? हामीलाई यति पनि हेक्का हुँदैन कि आमा छाउ भएको कारण हामी पैदा हुन सकेका हौं । हाम्री आमा छाउ नहुँदी हुन् त उनीमा हामीलाई जन्म दिने सामथ्र्य हुने थिएन । त्यही छाउको ताकतले हामी यो संसारमा अवतरण हुने मौका पायौं । आज हामी घरका मालिक तिनै आमाको छाउको कारणले भएका हांै । आज हामी जे जस्तो तह र तप्कामा छौं, जे भएका छौं, जे जति उन्नती प्रगति गरेका छौं त्यही आमाको छाउको कारणले भएको हो । आज माया गर्ने प्रेमिका र श्रीमति पनि तिनै आमाको छाउको कारणले पाएका हौं । यदि हाम्री आमा छाउ हुन सक्दिन थिइन् भने हामीले न आमा पाउने थियौं, न श्रीमति र प्रेमिका, न छोरी, न बहिनी । छाउविना जन्म सम्भव नै छैन । जन्म विना कुनै पनि कुरा सम्भव छैन । हामी यता तिर किन ध्यान दिन सकिरहेका छैनौंं ? यसतर्फ किन गहिरिएर सोच्न चाहदैनौं हामी ? हामीलाई यस्तो मार्मिक कुराले किन छुन सक्दैन ? यस्तो संवेदनसिल र ममतामयी कुरालाई हामीले अपहेलना किन ग¥यौं ? यो कुरा हामीले कहिले बुझ्ने ? अब त हामीमा चेतना आइसकेको छ नि हैन र ? अब त प्रायः सबै शिक्षित छौं । पढेर र परेर पनि यी सबै कुरा बुझेका छौं । कि अझै पनि हामी पितृसत्ता कै मालिक भएर बस्ने सोचमा छौं ?

हामी भन्छौं, दुर्गामाता, कालीमाता, भगवति माता आदि आदि देविहरू । यी माताहरूलाई हामी भगवति देवीका रूपमा मन्दिरमा पूजा गर्छौं । हो, तिनीहरू पनि आमा नै हुन्, महिला नै हुन् । दुःख संकटका बेला तिनै आमालाई पुकार्छाैं । दिनहुँ मन्दिरमा जान्छौं । पुज्छौं । आराधना गर्छौं । धुप चढाउँछौं । श्रद्धा गर्छाैं । अझै बडेमाका रागा–बोकाहरूको बलि दिएर तिनीहरूको पूजा गर्छाैं । बोका चढाउँछौं भनेर भाकल गर्छाैं । यसरी हामीले पुज्ने ती मन्दिरकी आमा पनि घरकी आमा जस्तै हैनन् र ?

तिनी पनि महिला हुन् । महिला भएका कारण ति आमा पनि छाउ हुन्छिन् । के ति आमालाई छाउ भएको बेलामा पूजा गर्न हुँदैन भन्ने कतै उल्लेख छ र ? ती मन्दिरकी आमा कहिले र कतिबेला छाउ हुन्छिन् हामीलाई थाह छ र ? कुनै पनि देविका मन्दिरहरूमा महिनामा पाँच दिन पुजाआजा नचल्ने पनि छन् र हिन्दु समाजमा ? हो त्यसैले हाम्रो घरकी आमालाई मात्रै किन त प्रत्येक महिनामा पाँच दिन छुनै नमिल्ने ?

त्यसैले यो छाउ भनेको त फल लाग्नको लागि फुलेको मनमोहक सुन्दर फूल हो । हामीले यसलाई सम्मान गर्न सिक्नु पर्छ र सक्नु पनि पर्छ । डा. नवराज केसीले ‘कर्णाली उत्सव’को ‘छाउ र भाउ’ शीर्षकको छलफलमा भनेको कुरा मलाई निकै घत लाग्यो, ‘अब हामीले छाउगोठ होईन छाउमहल बनाउनु पर्छ । घरको सबै भन्दा राम्रो कोठा छाउपणीका लागि छुट्याइनु पर्छ । त्यहाँ दुई चार वटा पुस्तक र केही खानेकुरा राखिएको होस् ।’ यसैमा केही कुरा थप्न मन लाग्यो, सुगन्धित सुत्ने कोठा होस, जहाँ आरामदायी प्लङ्ग होस । जोडिएको बैठक कोठा होस् । त्यहाँ राम्रा राम्रा केही मनमोहक पोस्टरहरू टाँसिएका होउन् । केही ज्ञानबद्र्धक र मनोरन्जनात्मक किताबहरू दराजमा होउन् । खानको लागि पौष्टिक खानेकुराको व्यवस्था गरिएको होस् । सरसफाईको लागि आरामदायी रेष्टरुम होस् । त्यहाँ स्यानिटरी प्रयोगका सबै सामानहरू राखिएका होउन् । ताकी त्यही महलमा छाउपणीहरू मिलेर हर्षोउल्लास मनाउन सकुन् । छाउ भएको बेलामा स्वास्थ्य परीक्षणको लागि एक जना नर्सको व्यवस्था होस् । प्रार्थमिक उपचारको लागि सबै किसिमको व्यवस्था मिलाईएको होस् । घरको कामबाट पाँच दिन भए पनि छुटकारा मिलोस् । त्यहाँ बस्दा छाउपणीलाई कुनै पनि कुराको तनाव नहोस् । आराम र स्वच्छता पूर्ण वातावरणमा छाउका पाँच दिन वितुन् । आहा !

(लेखक कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्य हुन् ।)

प्रकाशित मितिः   ५ असार २०७८, शनिबार ०९:४९