एमयूको वार्षिक बजेट ५२ करोड

मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत सञ्चालनतर्फ २७ करोड ४८ लाख र पुँजीगततर्फ २५ करोड विनियोजन गरिएको छ । बिहीवार आयोजित एघारौं वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । भर्चूअल माध्यमबाट आयोजना गरिएको वार्षिकोत्सवमा चालु आर्थिक वर्षमा गरिएको खर्चसमेत सार्वजनिक गरिएको थियो ।

चालु आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिकमा सञ्चालनतर्फ एमयूले हालसम्म २३ करोड खर्च गरेको छ । रजिस्ट्रार पौडेलकाअनुसार तेस्रो चौमासिकको खर्च रिपोर्ट आउन भने बाँकी छ । पुँजीगततर्फ १५ करोड खर्च हुने अनुमान रहेको उनले बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गरी योजनाहरू बनाइएको बताए । यसअघि पाँचवटा संकाय भएको विश्वविद्यालयमा कृषि र स्वास्थ्य थप गरी सात संकाय पुर्‍याइएको उनले जानकारी दिए । एमयूमा हाल ३१ वटा डिपार्टमेन्ट, १७ वटा कलेज, ६ सय शिक्षक–कर्मचारीहरू र आठ हजार विद्यार्थी छन् । विश्वविद्यालय सामाजिक र आर्थिक उन्नती गर्ने थलो भएको भन्दै उपकुलपति सिंहले विभिन्न निकायबाट शैक्षिक सुधारका लागि सहयोग प्राप्त भएको बताए ।

कार्यक्रमका प्रमुख अथिति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आवश्यकतालाई मध्यननगर गरी पाठ्यक्रम तयार गर्नुपर्नेमा जोड दिएका थिए । विश्वविद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने उनले सुझाए । भर्चूअल वार्षिकोत्सव कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. भारती जोशी, सदस्य प्रा.डा. रामेश्वर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   ४ असार २०७८, शुक्रबार ०९:२५