संक्रमितको चाप घट्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण दर घट्दो क्रममा छ । संक्रमण दर घटेसँगै लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो पारिएको छ । कोरोनाको जोखिम भने कायमै रहेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् । अस्पतालहरूमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्यामा पनि कमी आएको छ ।

प्रदेशमा बुधवारसम्म १९ जनाको आईसीयूू र सात जनाको भेन्टीलेटरम उपचार भइरहेको छ । वैशाख दोस्रो सातातिर प्रदेशभर डेढ सय हाराहारीमा संक्रमितहरू आईसीयूमा उपचाररत थिए । सक्रिय संक्रमितको संख्या अझै धेरै भए पनि सिकिस्त बिरामी घटेका हुन् । जेठ दोस्रो सातासम्म अस्पतालहरूमा कोरोना संक्रमितको चाप अत्याधिक थियो । अहिले स्वास्थ्य संस्थाहरूमा औषधिलगायत अन्य स्वास्थ्य सामग्रीको समेत अभाव नरहेको जनाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा दुई हजार सात सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

बुधवार प्रदेशभर ७७ जनामा संक्रमण पुष्टि भएको छ । तीन सय ४८ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको हो । रुकुम–पश्चिममा ३१, हुम्लामा १३, सल्यान र मुगुमा सात÷सात, कालीकोटमा पाँच, दैलेखमा चार, सुर्खेतमा तीन, जाजरकोटमा दुई, डोल्पामा एक र कर्णालीमा रहेका तर अन्य प्रदेशका चार जनामा कोरोना पुष्टि भएको हो । स्थानीय तहहरूमा परीक्षणको दायरा बढाएसँगै ग्रामीण क्षेत्रमा संक्रमितहरू भेटिन थालेका छन् । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म कर्णालीमा दुई सय ९४ जनाको ज्यान गएको छ । प्रदेशमा दैनिक कोरोना संक्रमणमुक्त हुनेको संख्या पनि ठूलो छ । बुधवार तीन सय ११ जनाले कोरोना जितेका छन् ।

यस्तै, देशभर थप दुई हजार आठ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । बुधवार १३ हजार २२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही दिन तीन हजार ८२ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना संक्रमणका कारण हालसम्म आठ हजार पाँच सय ५८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ३ असार २०७८, बिहीबार ११:११