अक्सिजन कन्सन्ट्रेसन मेसिन सहयोग

विदेशमा रहेका नेपालीहरूले कर्णाली प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेसन मेसिन सहयोग गरेका छन् । कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानले बुधवार सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई मेसिन हस्तान्तरण गरेको हो । कर्णाली प्रदेश समाज दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीप्रसाद बस्नेत र जापानका सल्लाहकार प्रेम रावलले सात थान अक्सिजन कन्सन्ट्रेसन हस्तान्तरण गरेका हुन् ।

मन्त्री बुढाक्षेत्रीले कोरोना संकटका बेला रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूले गरेको सहयोग महŒवपूर्ण भएको बताए । ‘रोजगारीका लागि परदेशमा रहेका नेपालीहरूले आफ्नो छाक काटेर कोरोना संकटमा सहयोग गर्नुभएको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘आफ्नो माटोप्रतिको माया देखाउने सम्पूर्ण विदेशी भूमिमा रहेका नेपालीहरूलाई सरकारकोतर्फबाट धन्यवाद दिन चाहन्छु ।’ कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश बस्नेतले कोरिया र जापानमा रहेका नेपालीहरूले संकलन गरेको रकमबाट अक्सिजन कन्सन्ट्रेसन प्रदान गरिएको जनाए । ‘अस्पतालमा अक्सिजन नपाएर हाम्रा आफन्तहरूले दुःख पाएको टुलुटुलु हेरेर बस्न सकेनौं,’ उनले भने, ‘छाक कटाएर भए पनि जम्मा गरेको केही रकबाट सहयोग गरेका हौं ।’

कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानबाट सात थान १० लिटरका अक्सिजन कन्सन्ट्रेसन मेसिन कर्णाली प्रदेश अस्पतालसहित पाँच जिल्लालाई वितरण गरिएको छ । कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले कर्णाली प्रदेश अस्पतालमा दुई, चौरजहारी मेसिन अस्पताल, जाजरकोट जिल्ला अस्पताल, दैलेख जिल्ला अस्पताल, कालीकोटको राष्टकोट अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एक थान अक्सिजन कन्सन्ट्रेसन उपलब्ध गराइएको जानकारी दिए ।

प्रकाशित मितिः   ३ असार २०७८, बिहीबार ११:०६