सेवा विस्तार नहुँदा सास्ती
यातायात व्यवस्था सेवा केन्द्र सुर्खेतले सेवा विस्तार गर्न नसक्दा सेवाग्राहीलाई सास्ती हुने गरेको छ । सुर्खेत आसपास जिल्लाका सेवाग्राहीले नयाँ गाडी दर्ता, रोड परमिट, नामसारी, लाईसेन्स जारी तथा नविकरण र सवारी अञ्चलीकरण दर्ता जस्ता कार्यका लागि नेपालगञ्ज र जुम्ला जानु पर्ने बाध्यताका कारणले सास्ती व्यहोर्नु परेको हो ।
राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले यातायात व्यवस्था सेवा कार्यालयले तत्काल सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर सेवा विस्तार गर्न माग गरेको छ । सवारी नामसारी गर्न लाग्ने ७० रुपैयाँको दस्तुर बुझाउन सात सय रुपैयाँ खर्चेर नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले बताईन् । उनले यातायात व्यवस्था सेवा केन्द्रले सेवा विस्तार नगर्दा सवारी साधानका सानातिना कामका लागि नेपालगञ्ज र जुम्ला जानुपर्दा समयसँगै अनावश्यक आर्थिक भार हुने गरेको दुःखेसो पोखिन् ।
यातायात व्यवस्थापन भेरी अञ्चल कार्यालय नेपालगञ्ज मातहत रहेको सेवा कार्यालय स्थापना भएको तीन वर्ष वितिसक्दा समेत सेवा विस्तार हुन सकेको छैन् । सेवा कार्यालयले विलबुक नविकरण, कर असुली, जाँच पास, पट्के परमिट, परमिट नविकरणसँगै अस्थाई परमिटमै सीमित राखेको सेवाग्राही बताउँछन् । यातायात सेवा केन्द्रले सेवा विस्तार नगर्दा सुर्खेत आसपासका जिल्लाका सेवाग्राहीलाई अहिले सवारी अनुमति पत्र लिन नेपालगञ्ज र जुम्ला जानुपर्ने बाध्यता रहेको छ ।
सेवा कार्यालयका सूचना अधिकृत घनश्याम बोगटीले थप सेवा विस्तार गर्न विभागबाट अनुमति मिलेपछि मात्र सेवाग्राहीको मागलाई सम्बोधन गर्न सकिने बताए । उनले मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम तथा ६ नम्बर प्रदेशको सम्भावित राजधानी सुर्खेतमा थप सेवा सुविधा विस्तार गर्न विभागसँग पहल भईरहेको जनाए । ‘यातायात व्यवस्था विभागले सेवा विस्तारको अनुमति दिएमा हालकै कर्मचारीबाट सेवाग्राहीका ती मागहरु पुरा गर्न सकिन्छ,’ उनले भने, ‘तर, कर्मचारी स्तरबाट पर्याप्त हुन नसक्ने भएकाले विभागसम्म माग पु¥याउन जनप्रतिनिधिको आवाज आवश्यक हुन्छ ।’
यातायात सेवा केन्द्रमा अहिले आठ जना निजामति कर्मचारीको दरबन्दी रहेको छ । जसमा एक जना कार्यालय प्रमुख शाखा अधिकृत, दुई जना नायव सुब्बा, एक जना मेकॉनिकल सुपरवाईजर, एक जना खरिदार, एक जना सह–लेखापाल र दुई जना कार्यालय सहयोगी रहेका छन् । सो मध्ये एक जना मेकॉनिकल सुपरवाईजरको पद रिक्त रहेको छ । यातायात सेवा केन्द्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको बताएको छ । गत आवमा केन्द्रले चार करोड ५५ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।
प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार १८:४८
साझा बिसौनी ।