विधुतीकरणका लागि ४२ करोड ३१ लाख

सुर्खेत-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा ऊर्जा विकास एवम् ग्रामीण विद्युतीकरणका लागि ४२ करोड ३१ लाख रकम विनियोजन गरेको छ ।

यस्ता छन् मुख्य योजना :

  • नेपाल सरकारको सहकार्यमा २० मेगावाटसम्मका साना जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा विस्तृत डिजाइन गरी कार्यान्वयन गरिनेछ । कर्णाली प्रदेशमा जलविद्युतको विकास गर्न विद्युत विकास कम्पनी स्थापना गरी कार्य अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु । भेरी बबई आयोजनाको बाँधस्थलमा बन्ने जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइनेछ ।
  • नेपाल सरकारसँगको सहकार्यमा जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुने फुकोट कर्णाली र जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना एवं भेरी बबई बहुउद्देश्यीय आयोजनामा प्रदेश सरकारको तर्फबाट शेयर लगानी गर्ने व्यवस्था मिलाएको छु । साथै जाजरकोट जिल्लाको ताक्सुगाड जलविद्युत आयोजना निर्माणमा शेयर लगानी गर्नका लागि वित्तीय व्यवस्था तर्फ आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सम्पूर्ण कर्णालीबासीलाई उज्यालो प्रदान गर्न विद्युत सेवा नपुगेका स्थानहरुमा ग्रामीण विद्युतीकरण तथा सौर्य, वायु, वायोग्यास जस्ता बैकल्पिक उर्जा र लघु जलविद्युत सेवा उपलब्ध गराउन कर्णाली उज्यालो कार्यक्रम निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • स्थानीय सरकारको स्वामित्वमा एक मेगावाट भन्दा ठूला आयोजना निर्माण गरी उत्पादन, रोजगारी तथा ग्रामीण विद्युतीकरणमा योगदान पुर्‍याउने स्थानीय तहलाई अनुदानको व्यवस्था गरेको छु ।
  • ऊर्जा विकास एवम् ग्रामीण विद्युतिकरणका लागि रु. ४२ करोड ३१ लाख रकम विनियोजन गरेको छु ।
प्रकाशित मितिः   १ असार २०७८, मंगलवार १९:५४