खानेपानी तथा सरसफाईका लागि एक अर्ब
सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रमको लागि एक अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ ।
यस्ता छन् मुख्य योजना र कार्यक्रम :
- आधारभूत खानेपानी सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न र गुणस्तरीय खानेपानी सेवाको विस्तार गर्न निर्माणाधीन क्रमागत आयोजनाहरुलाई उच्च प्राथमिकता दिई सम्पन्न गरिनेछ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको खानेपानी व्यवस्थापनका लागि नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा सुर्खेत उपत्यका वृहद् खानेपानी आयोजना सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- नेपाल सरकार र स्थानीय तहसँगको सहकार्यमा खानेपानी समस्या भएका जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रमा स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउन खानेपानी आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- खानेपानीको सुविधा नभएका सार्वजनिक विद्यालयहरु पहिचान गरी खानेपानी सुविधा पुर्याउन आवश्यक बजेट व्यवस्था गरेको छु ।
- प्रदेशभित्र रहेका साना शहर तथा आर्थिक केन्द्रहरुमा सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी प्रणालीहरुको सुदृढीकरण तथा स्तरोन्नतिको कार्यक्रम अगाडि बढाइनेछ । नेपाल सरकार र स्थानीय तहसँगको सहकार्य र समन्वयमा सबै स्थानीय तहमा एक घर एक धारा अभियान सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- शहरी क्षेत्रमा आधारभूत सरसफाईको दिगो व्यवस्थापनका लागि स्थानीय तहसँगको सहकार्यमा ढल व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापन गरिनेछ ।
- मर्मत सम्भारको अभावमा सञ्चालनमा नरहेका र विपद्का कारण अवरुद्ध भएका खानेपानी आयोजनाहरुको मर्मत सम्भार गरी नियमित सञ्चालनको व्यवस्था गरिनेछ ।
- खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रमको लागि रु १ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छु ।
साझा बिसौनी ।