सडक र यातायाततर्फ सात अर्ब २९ करोड

सुर्खेत- कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरणका लागि  सात अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त रकम छुट्याइएको हो ।

यस्ता छन् मुख्य योजना र कार्यक्रम :

  • कर्णाली प्रदेशमा सुरक्षित, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार विकासका लागि प्रदेश राजमार्गको गुरुयोजना तयार गरी प्राथमिकताका आधारमा कार्यान्वयन गरिनेछ । नेपाल सरकारको समन्वय र सहकार्यमा रणनीतिक महत्वका सडकहरु दुनै-स्यालदाङ्ग-धो-क्याटो सडक, कर्णाली करिडरको दोमुख-गमगढी-नाक्चे-लाग्ना सडक र सुर्खेत-हिल्सा सडकमार्गको ट्रयाक खोल्न बाँकी काम सम्पन्न गर्न तथा संरचना निर्माण गर्न प्राथमिकता दिइनेछ ।
  • प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने सडकको स्तरोन्नति तथा निर्माणलाई प्राथमिकता दिई देवस्थल – कैनकाँडा – चौरजहारी – मुसिकोट सडक र वालुवासंग्रही-कुपिण्डे- खलंगा सडकलाई कालोपत्रे गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • स्थानीय तहको केन्द्रदेखि मुख्य सडक वा जिल्ला सदरमुकाम जोड्ने सडक निर्माणका लागि उच्च प्राथमिकता दिई वजेट विनियोजन गरेको छु ।
  • घाटगाउँ कुल्लीमारी सडक, श्रीस्थान राकम सडक, थारमारे चौरजहारी सडक, कालीकोट लालु लैफु कोटवाडा सडक र सर्केगाड सिमकोट सडक स्तरोन्नति तथा सडक पूर्वाधार विकासका लागि नेपाल सरकारको साझेदारीमा निर्माणकार्य अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु ।
  • अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउन तेलपानी भुरीगाउँ सडकको स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • जनता सडक कार्यक्रमलाई थप व्यवस्थित गरी कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • कार्यान्वयनमा रहेका क्रमागत र बहुवर्षीय आयोजनाहरु चाँडो सम्पन्न गर्न प्राथमिकताका साथ कार्य अगाडि बढाइनेछ । यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • प्रदेशस्तरीय योजना कार्यान्वयन भएका सडक आयोजनाहरुमा आवश्यकता अनुसार मोटरेवल पुल निर्माणलाई प्राथमिकता दिइनेछ । पुल निर्माण गर्न अति आवश्यक स्थानहरुका लागि सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयनमा जोड दिइनेछ ।
  • विगतमा सञ्चालनमा रहेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिएको छु । यसका लागि रु ९६ करोड रकम विनियोजन गरेको छु ।
  • भौगोलिक रुपमा विकट र दुर्गम स्थानहरुलाई यातायातको सहज पहुँच सुनिश्चित गर्न प्राथमिकता दिई आवश्यक स्थानहरुमा स्थानीय तहसँगको समन्वयमा झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी साधन परीक्षण केन्द्र स्थापना गरी सवारी साधन परीक्षण र सवारी जाँच नियमित गर्नको लागि आवश्यक पर्ने बजेट विनियोजन गरेको छु ।
  • सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण तर्फ रु. ७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छु ।
  • सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकारसँग साझेदारी गर्ने गरी वित्तीय व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • आर्थिक, सामाजिक तथा पर्यटकीय दृष्टिकोणले सम्भाव्य स्थानहरुमा ग्राभिटी रोपवे तथा केबलकारको सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयनका लागि आवश्यक वजेट विनियोजन गरेको छु । कालिकोट कोटवाडा एयरपोर्ट देखि मान्मा, रारा मुर्माटप र वीरेन्द्रनगर सिद्धपाइला जोड्ने केबुलकार सम्भाव्यता अध्ययन तथा निर्माणका लागि बजेटको व्यवस्था गरेको छु ।
प्रकाशित मितिः   १ असार २०७८, मंगलवार १९:४६