कोभिड नियन्त्रण र उपचारका लागि ५३ करोड ९८ लाख

सुर्खेत-कोभिड-१९ नियन्त्रण र रोकथामका लागि कर्णाली प्रदेश सरकारले करिब ५४ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मंगलवार सार्वजनिक गरिएको बजेटमा कोभिड परीक्षण, उपचार र प्रतिकार्यका ५३ करोड ९८ लाख विनियोजन गरिएको उल्लेख छ ।

कोभिड नियन्त्रण र उपचार सम्बन्धि थप योजना र कार्यक्रम यस्ता छन् :
-अस्पतालहरूको सुदृढीकरण अन्तर्गत प्रदेश अस्पताल, सुर्खेत ५०० शैय्या, जिल्ला अस्पताल डोल्पा, मुगु र हुम्ला ५० शैय्या तथा जिल्ला अस्पताल कालिकोट, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेख १०० शैया अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारको विकास, स्वास्थ्य उपकरण तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

-जिल्ला अस्पतालहरुमा कम्तिमा एक भेन्टिलेटरसहितको पाँच आईसियु उपचार कक्ष समेत पचास उपचार शैय्याको व्यवस्था गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

-अस्पातालमा भर्ना भएका कोरोना संक्रमितहरुको लागि निशुल्क उपचार र पोषिलो आहार सम्बन्धित अस्पतालहरुबाट उपलब्ध हुने व्यवस्था मिलाएको छु ।

-संघीय सरकारसँगको समन्वयमा कोभिड १९ विरुद्धको खोप खरिद गरी क्रमशः सम्पूर्ण कर्णालीबासीहरुलाई खोप लगाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।

-प्रत्येक अस्पतालमा आधारभूत सुविधासहितको स्वास्थ्य परीक्षण प्रयोगशाला सञ्चालन गर्न आवश्यक उपकरण र विशेषज्ञ जनशक्ति व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

-प्रदेश अस्पताल सुर्खेतमा एमआरआई उपकरण खरिद एवं प्रदेश अस्पताल लगायत अन्य अस्पतालहरूको मेडिकल औजार तथा अन्य उपकरण खरिदका लागि रु १३ करोड ९६ लाख ब्यवस्था गरेको छु ।

-प्रदेश राजधानी सुर्खेतमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरी लुम्विनी प्रदेशको नेपालगञ्जमा रहेको स्वास्थ्य आपूर्ति शाखालाई स्थानान्तरण गरिनेछ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि ३ करोड ३५ लाख बजेट ब्यवस्था गरेको छु।

-वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालको रूपमा स्तरोन्नति गरिनेछ । सुर्खेत बाहेकका अन्य ९ वटा जिल्लाहरूमा आयुर्वेद स्वास्थ्य केन्द्रहरूको स्थापना गरी सञ्चालन गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

-दुर्गम स्थानका बासिन्दाहरुलाई लक्षित गरी टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य चेकजाँच तथा त्यस्ता स्थानहरुमा सम्बन्धित स्थानीय तह र सरोकारवाला संस्थाहरुसँगको समन्वय एवं साझेदारीमा नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याोउन विशेषज्ञ घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।

-दुर्गम स्थानबाट जटिल प्रसुती अवस्था एवं आपतकालीन अवस्थाका विरामीहरुलाई शिघ्र उपचारको लागि हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिएको छु ।

-सुरक्षित सुत्केरी गराई आमा र बच्चाको जीवन रक्षा गर्न स्थानीय तहसँगको साझेदारीमा आवश्यक स्थानमा बर्थिङ्ग सेन्टर निर्माण गरी सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

-कर्णाली प्रदेशका दुई प्रमुख नाका बबई र कपुरकोटमा सेन्सर उपकरण सहितको स्वास्थ्य चेकजाँच र उद्धार सहायताका लागि आवश्यक व्यवस्था मिलाएको छु ।

-रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा उक्त नगरपालिकाले सञ्चालन गर्दै आएको कोभिड ल्याब प्रदेश सरकारको मातहतमा ल्याई सञ्चालनमा ल्याइनेछ।

-सवै अस्पतालमा शव वाहन तथा स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्थाहरुमा स्थानीय तहको साझेदारीमा एम्बुलेन्स र शववाहन व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

प्रकाशित मितिः   १ असार २०७८, मंगलवार १९:२५