निषेधाज्ञा खुकुलो
केही क्षेत्र खुकुलो पारेर जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइएको छ ।
कोरोना भाइरस ‐कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुर्खेतमा डेढ महिनादेखि जारी निषेधाज्ञा केही क्षेत्र मात्र खुकुलो पारेर कायमै राखिएको छ । संक्रमणको जोखिम नटरेको भन्दै स्थानीय प्रशासनले असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो । सोमवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कतिपय क्षेत्रलाई खुकुलो बनाएर निषेधाज्ञालाई थप गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको बताए । यसअघि अत्यावश्यक र प्रशासनको अनुमतिमा केही क्षेत्रहरू मात्र खुला रहेकोमा अब भने स्वास्थ्य मापदण्ड अपनाएर बजारसमेत खोल्न पाइने भएको छ । तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, खाना पकाउने ग्यास, कृषि तथा बिऊबिजन सम्बन्धी पसल, निर्माण सामग्री (हार्डवेयर पसल) दैनिक बिहान ६ देखि ११ बजेसम्म खुल्ने छन् । खाद्यान्नबाहेक अन्य पसलहरू सातामा ६ दिन खोल्न पाइने प्रशासनले जनाएको छ । त्यस्ता व्यवसाय शनिवारबाहेक बिहान ६ देखि ११ बजेसम्म सञ्चालन गर्न सकिने भएको हो ।
यस्तै, निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीले कार्यालय जाँदा र फर्किंदा सवारी साधन प्रयोग गर्न पाउने छन् । एम्बुलेन्स, शववाहन खाद्य, दुध, इन्धन, विद्युत मर्मत सम्भार र स्वास्थ्यसँग सम्बन्धित निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन पनि चल्न दिइने जनाइएको छ । थपिएको निषेधाज्ञामा सार्वजनिक तथा निजी सवारीसाधन भने सञ्चालन गर्नमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक वस्तु होम डेलिभरी गर्ने निकायले साँझ ७ बजेसम्म वीरेन्द्रनगर उपत्यकामा मात्र सेवा दिन पाइने छ । होटल तथा रेष्टुरेण्टले यो अवधिमा होम डेलिभरी भने गर्न पाउने छन् । बढीमा ५० प्रतिशत मात्र कर्मचारीको उपस्थितिमा बैंक, वित्तीय संस्था र सहकारीहरूले अत्यावश्यक कारोबार गर्न सक्ने जारी आदेशमा उल्लेख छ ।
निषेधाज्ञामा सभा, सम्मेलन, फिल्म हल, पार्टी प्यालेस, सैलुन, ब्यूटीपार्लर, पुस्तकालय खोल्न र भिडभाड हुने गतिविधिहरू गर्न पाइने छैन । प्रशासनले सडक पेटी, फूटपाथ तथा खुला ठाउँमा व्यापार गर्न नपाइने जनाएको छ । विवाह व्रतबन्ध तथा सामूहिक रूपमा गरिने धार्मिक तथा साँस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै सुर्खेतमा गत वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी छ । जिल्लामा अझै कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार बढी छ ।
प्रकाशित मितिः १ असार २०७८, मंगलवार ११:४०
साझा बिसौनी ।