सक्रिय संक्रमित तीन हजार बढी
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९ को) संक्रमण दरमा केही कमी आए पनि जोखिम भने उस्तै छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या अझै धेरै भएकाले जोखिम उच्च नै रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा सक्रिय संक्रमितको संख्या तीन हजार दुई सय ३४ रहेको छ ।
आइतवार थप ६७ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दुई सय ९० जनामा परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको हो । निर्देशनालयका अनुसार जुम्लामा १३, दैलेखमा १०, सल्यान र रुकुम–पश्चिमा नौ–नौ, जाजरकोट र डोल्पामा आठ–आठ, कालीकोटमा ६, सुर्खेतमा चार, र मुगुमा दुई जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी संक्रमित भेटिने गरेका छन् ।
संक्रमणका कारण आइतवार थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संंक्रमणबाट कर्णालीमा मृत्यु हुनेको संख्या दुई सय ९० पुगेको छ । आइतवार नै दुई सय पाँच जना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आईसीयूमा १५ र भेन्टिलेरमा नौ जना संक्रमित उपचाररत छन् । यस्तै, आइतवार देशभर दुई हजार चार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित ४६ जनाको मृत्यु भएको छ ।
छुटेकालाई खोप लगाइँदै
कोरोनाविरुद्धको खोप लगाउन छुटेका ६२ देखि ६४ वर्ष उमेर समूहकालाई आज र भोलि खोप लगाइँदै छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार यसअघि जेठ २७ र २९ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेकालाई खोप दिइने भएको हो ।
६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका र पहिलो प्राथमिकतामा परेका नागरिकलाई खोप लगाइने जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । यो पटक पहिलो प्राथमिकतामा परेर छुटेकालाई पनि खोप लगाइने छ । छुटेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पनि खोप दिइने वाग्लेले बताए । वीरेन्द्रनगरबाहेक जिल्लाका आठ वटा स्थानीय तहमा भने असार १ गते छुटेकालाई खोप लगाइँदै छ । वीरेन्द्रनगरमा आज (मंगलवार) खोप लगाइने छ ।
प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०९:०६
साझा बिसौनी ।