नेपाली कम्युनिष्टको यात्राः कहीँ नभएको जात्रा

पृथ्वीबहादुर सिंह

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७१ वर्ष बित्यो । संसारकै कान्छो पार्टीका रूपमा नेपालमा स्थापना भएको हो । निरंकुश सामन्ती पारिवारिक राणा शासन अन्त्य गर्न २००७ सालमा भएको जनक्रान्तिमा सानो संगठनका रूपमा सहभागी भएको थियो । त्यो समयसम्म सामन्तवाद अन्त्य गरी पूँजीवादले कृषि र औद्योगिक क्रान्तिमार्फत मजदुर–किसानको श्रमशोषण उही सामन्तवादी दैवी सिद्धान्तको आधार गरी ठूलो वर्ग विभाजन गर्न पुग्यो । के साच्चै ईश्वरले नै धनी–गरिब बनाएको हो ? वा मानिसले मानिसमाथि शोषणका अनेकौ रूपरंग अपनाएर धनी–गरिब बनाएको हो भनी मानव उत्पतीदेखि अनेकौ इतिहास, धार्मिक–सामाजिक ग्रन्थहरू मसिनो गरी अध्ययन माक्र्सले गरे । मानिसले नै अनेकौ जाल गरी धनी–गरिब बनाएको रहेछ भनी ती शोषणका एकएक धुत्य्राइँका उदाहरण ‘पूँजी’का तीन भाग पुस्तकमा कार्ल माक्र्सले उद्घाटन गरे । सामन्तवाद पूँजीवादी व्यवस्था अन्त्य गर्न किसान, मजदुर, सर्वहारा संगठन, सशस्त्र संघर्षबाट गर्न सकिन्छ भनी अन्तर्राष्ट्रिय कम्युनिष्ट लिगको संगठन समेत स्थापना गरे । माक्र्सवादको विरोध मा त्यतिबेलादेखि नै बोकोनिनहरू उदाएका थिए । माक्र्स आफ्नो जन्म देश जर्मनी र फ्रान्सबाट निकालिँदै गए । छोराको मृत्युमा कफनसम्म नपाएर उनी बेलायतमा शरण लिएर बसे । उनी त्यहाँको पुस्तकालयमा अध्ययन गर्दै बसिरहेका थिए ।

फ्रान्समा कम्युनिष्ट पार्टीले पहिलो विद्रोह ई.स. १८७१ को ‘मे–क्रान्ती’ गरेर ७२ दिन सत्ता कब्जा जमाउन पुगेको थियो । सेना, बैंक, न्यायालय कब्जा नगरी कम्युनिष्ट शासन लगाउन सकिन्छ भन्ने पर्खदा सशस्त्र विद्रोहमाथि प्रतिक्रियावादीहरूले सत्ता पल्टाएर कम्युनिष्टहरूको ठूलो रक्तपात मच्चाएका थिए । यही क्रान्तिबाट पाठ सिकेर पूँजीवादी सामन्तवादी सत्ता पल्टाइसकेपछि फौजी, निजामती र न्यायालय कब्जा गर्नुपर्ने ज्ञान प्राप्त गरी सशस्त्र क्रान्ति गरी राज्यका तीन अङ्गमा आफ्नो पकडमा राख्नुपर्ने क्रान्तिकारी नीति थप्न गएका थिए, विश्व कम्युनिष्ट लिगले ।

माक्र्सको मृत्युपछि सोभियत रुसमा भ्राइ लेनिनको नेतृत्वमा कम्युनिष्ट पार्टीले सर्वहारा मजदुर किसानको साथ लिएर बोल्सेभिकहरूले समाजवादी सशस्त्र क्रान्ति सफल गरेर राज्यका सबै अङ्ग कब्जा गरे । संसारभरका सामन्त, पूँजीवादीहरूमा दश हेक्टरको भूकम्प गयो । रुसको सफलतापछि संसार एक तिहाई भू–भागमा कम्युनिष्ट क्रान्ति सफल भएर एकदलीय कम्युनिष्ट पार्टी राज्यसत्ता १९७० सम्म चलाएर समाजवाद व्यवस्था पूँजीवाद भन्दा समृद्ध देश बनाउन सफल भए ।

यता मेरो देशमा २००७ सालपछि बहुदलीय प्रजातन्त्र स्थापनाको एक वर्षपछि २००८ सालमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएर २०१३ सालमा फुकुवा भएको थियो । जन्मेको सालनाल अवस्थामा सामन्तवाद, पूँजीवादको गिद्दे नजर परेको थियो । पार्टीभित्र सामन्तवाद र पूँजीवाद अवसरवादी झिल्काहरू पसिसकेको २०१७ पौष १४ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य हुँदा डा. केशरजंग रायमाझीहरू राजाको कदमको समर्थनमा देखिएका थिए । त्यसपछि पुुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी संयुक्त जनआन्दोलनको नारा बोकी लागे ।

नरोदिनवादीहरूको बहिस्कार, सामन्तवाद दलाल प्रजातन्त्रवादी वीपीहरू संयुक्त जनआन्दोलनमा सहमत भएनन् । पुष्पलाल भारतीय भूमिमा खान लगाउन औषधि उपचार नपाएर २०३५ साल भारतमै मृत्यु भयो । कम्युनिष्ट राज्य व्यवस्थाप्रति नेपाली जनताको आकर्षण बढ्दै गइ पुष्पलालको संयुक्त जनआन्दोलन नारा २०४६ सालमा सफल भयो । यता बहुदलीय प्रजातन्त्र प्राप्त भयो । तर उता ७० वर्ष कम्युनिष्ट राज्य व्यवस्था सञ्चालन भएको देश शक्ति सम्पन्न सोभियत संघ ई.स. १९९० मा १६ टुक्रा राज्यमा विभाजित गरी पूँजीवादतिर उन्मुख हुन पुुग्यो ।

मेरो देशमा कम्युनिष्ट पार्टीको उज्यालो घाम तिरमिराएको बेला सोभियत घटनाले यो पंक्तिकार अत्तालियर ‘एल्तसिङ र गोर्माचोमलाई उल्टो सलाम’, ‘सोभित कम्युनलाई लालसलाम’ शीर्षकमा कविता सिर्जना गर्न पुुगेको थियो । हाम्रो देशमा भने टूटफूट कम्युनिष्ट पार्टीहरूमा एकीकरणको घुम्चक्कर चलिरहेको थियो ।

माले–माक्र्सवादी पार्टी २०४७ मा एकीकरण भइ एमाले हुन गएको थियो । एकदलीय कम्युनिष्ट पार्टीको राज्य व्यवस्थापनको ओरालो लागेको दृश्य देखेर एमाले पार्टीको पाँचौं महाधिवेशनबाट ‘जनताको बहुदलीय जनवाद’को कार्यनीति, रणनीतिमार्फत साम्यवादसम्म पुग्ने, संसद्बाट कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार बनाउने स्वप्न निर्णय गरे । यही कार्यक्रमको कारण नेपालको दलाल पूँजीपति र पुुनर्उत्थानवादी तप्का सहजै एमाले पार्टीको सदस्यता लिएर पार्टी संगठन तथा संसद्सम्म पुगे । हुन त राज्य समाजको उत्पति भएदेखि सिद्धान्त, वाद, दर्शन समयक्रमसँगै बदलिँदै आएको छ । राज्य व्यवस्थामा आम जनताको समान पहुँच पुर्‍याउन भनि सशस्त्र तथा निशस्त्र विद्रोह गरी सत्तामा पुग्ने पनि गर्दै आएका छन् । तर सत्ता प्राप्तपछि विलासिताका अनेकांै फेहरिस्त तयार गर्ने, जनतमा अत्याचार, भ्रष्टाचार, हत्या–हिंसा गर्दा निरंकुश सामन्तवाद नाइके राजादेखि संसदीय पूँजीवादी नेतृत्व समेतलाई मृत्युदण्ड दिनु परेको इतिहास हाम्रो सामु छ । अर्को पक्ष सत्तामा पुग्ने पार्टीहरूभित्र अनेकौ जनताका बैरी देशी–विदेशी तत्व पुगरे कम्युनिष्ट पार्टीको सत्ता ढाल्दै आएका छन् । एमालेको जनताको बहुदलीय जनवाद नै पूँजीवादउन्मुख पार्टी हो । लेनिनको भनाइमा, संसद् भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ हो । सशस्त्र विद्रोह गरी कम्युनिष्ट पार्टीको एकल राज्य व्यवस्था ल्याउन प्रचण्डहरूले दश वर्ष बन्दुक उठाए । जनका अनेकौं कथा–कहानी कथ्य साहित्य राजनीतिमा प्रकाशन भएका छन् । प्रचण्डले लामो थकान कहाँ बिसाउने भनेर अवतरण स्थान खोजिरहेको अवस्थामा नारायणहिटी दरवारमा राजाको सपरिवार हत्यापछि ज्ञानेन्द्र राजा बन्न पुगे । संसद् विघटन र संयुक्त जनआन्दोलन–२ बाट पुनः संसद् स्थापनापछि दश वर्ष संविधान निमार्ण संसद् मन्त्री उपयोग पछि बल्ल प्रचण्डहरूले एमालेको बहुदलीय जनताको जनवाद र माओवादीको २१औं शताब्दीको जनवाद २०७४ सालमा आएर प्mयूजन गरी पार्टी एकीकरण गरे । सशस्त्र–निशस्त्र हिँडेको कमरेडहरूसँगै हात्ती छाप चप्पल लगाउने र खाना नपाउनेहरूले ३२ वर्षमा अनेक तरिका अपनाएर अकुत सम्पत्ति राज्यको उच्च तहमा लोकप्रिय नाराको भरमा बहुमत सरकारमा जनताले पु¥याए । सँगै हिँडेका इमान्दार सोझा कमरेडहरू घर न घाटका भएर अत्तालिएका छन् । बरु कमरेडहरू भाडामा विदेश पठाउन सुरु गरेको राणा, शाही शोषणलाई थप निरन्तरता दिँदै विश्वका विभिन्न मुलुकहरू युवायुवतीले पठाएको रेमिटेन्स खाएर मोटाएपछि सत्ता स्वादमा भागवण्डा नमिली दुुई तिहाइको कम्युनिष्ट सरकारले संसद् विघटन ग¥यो । न्यायालयबाट पुनस्र्थापना भएपछि गैरनेपाली भए पनि सत्तामा बसी लुटपाट गर्न गैर कम्युनिष्टहरूसँग अप्राकृतिक सरकारको लगनगाठो कस्न लागिरहेका छन् । सत्ता टिकाउन जनता होइन, विदेशी प्रभुहरूको दैलो चहार्न पुगिरहेका छन् । विदेशी हस्तक्षेपमार्फत अफगानस्तानजस्तो द्वन्द्वले थिलोथिलो बनाउने त होइनन् ? जनतामा आशंंका उब्जीरहेका छन्, अब कहिले नेपालमा कम्युनिष्ट राज्यव्यवस्था आउला ? कम्युनिष्ट शासन ल्याउन हिँडेका इमान्दार सोझा कार्यकर्ता, कम्युनिष्ट पार्टीलाई मतदान गर्ने जनता संसारमा कम्युनिष्ट पार्टीमा ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ नेपालमा कहिले अन्त्य हुने होला भनि तीनछक परेका छन् ।

दोस्रो विश्वयुद्धमा हिटलरका सञ्चारमन्त्री गोयवल्सले आफ्नो देश जर्मनीमाथि विदेशीले धावा बोल्दा पनि आफ्नो सेनाले हंगेरी युगोस्लाविया युरोपका अन्य धेरै मुलुकहरूमा हमला गर्दैछ भनी सञ्चारमा हल्ला मच्चाउँथे, त्यस्तै नेकपाको सरकारले अनेकौ राम्रा निर्णय देश विकास गर्दै अगाडि बढिरहेको छ भन्ने प्रदीप ज्ञवालीहरू कता ओझेल पर्दैछन् ? सामन्त गोयलहरूको निर्देशनमा सरकार चल्दै छ कि ? ‘मैले जसलाई उत्कृष्ट मानेको थिएँ तिनीहरू निष्कृष्ट निक्लिएँ, जसलाई निष्कृष्ट ठानेको थिएँ उत्कृष्ट निलिक्ए’ ग्रीस एथेन्स दार्शनिक शुकरातले मृत्युदण्ड दिदा भनेका थिए ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७८, सोमबार ०९:०४