आन्दोलन मत्थर पार्न स्थानीय निर्वाचनको ‘लविङ’

संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै देशका विभन्न स्थानमा भइरहेको आन्दोलन मत्थर पार्न सरकारको नेतृत्व गरिएको दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय निर्वाचनको लविङ सुरु गरेको छ । निर्वाचनको घोषणा गरे आन्दोलन आफै मत्थर हुने मा‌ओवादीको निष्कर्श छ ।

शनिबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलय र पोलिटब्यूरो बैठकले राजनीतिक स्थायित्व र संविधान कार्यान्वयन गर्न स्थानीय निर्वाचन घोषणा गरेर जाने निर्णय गरेको छ। संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता भएसँग पाँच नम्बर प्रदेशमा विरोध भइरहेको सन्दर्भमा माओवादी बैठकले यस्तो निर्णय लिएको हो।

प्रवक्ता पम्फा भुसालले दिएको जानकारीअनुसार संसदमा दर्ता संशोधनको प्रस्तावमा सहमतिको पहल गर्दै स्थानीय निकायको निर्वाचन घोषणा गरेर जाने निर्णय केन्द्रीय कार्यालय र पोलिटब्यूरोले गरेको छ।

‘स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि सबै दलहरु निर्वाचनमा केन्द्रीत हुन्छन, भुषालले भनिन्, ‘अनि आन्दोलन र विरोधका स्वरहरु मत्थर भएर जानेछन।’

पार्टीको सङ्गठनसम्बन्धी छलफल गर्न भने आइतबार पुनः पोलिटब्युरो बैठक बस्ने भुसालले जानकारी दिइन।

पोलिट्ब्यूरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका थिए।

प्रचण्डले संविधान संशोधनमा सहमति जुटाउन सरकार प्रयत्नशील रहेको जानकारी दिंदै प्रमुख प्रतिपक्षी एमाले र मधेशी मोर्चासँग सरकार निरन्तर संबादमा रहेको उल्लेख गरेको प्रधानमन्त्रीको कार्यलयले जनाएको छ।

आइतबारको पोलिटब्यूरो बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ।

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार १७:१२