आज रोनाल्डो र मेसी पुनः आमनेसामने हुँदै

क्लब फुटबलको सबैभन्दा प्रतिक्षित खेल स्पेनको दुई बलियो प्रतिद्धन्द्धी रियल म्याड्रिड र बार्सिलोनाबीच आज शनिवार खेल हुँदा सबैको आँखा दुई स्टार खेलाडीमा पर्ने पक्का छ। नेपाल समयअनुसार राति नौ बजे खेल सुरु हुँदा दुई क्लबबीच मात्र नभई बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी र रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियनो रोनाल्डोबीचको प्रतिद्वन्द्वीता पनि उजागर हुने छ।

वर्तमान अवस्थामा दुबै खेलाडी विश्व फुटबलको स्टार मानिन्छन्। अन्तर्राष्ट्रिय फुटबलमा उदाएपछि यी दुवै खेलाडीले विश्वको उत्कृष्ट खेलाडीको सूचीमा सन् २००८ देखि कसैलाई उछिन्न दिएका छैनन्। मेसीले बालाने डि’ओरको उपाधि ५ पल्ट र रोनाल्डोले तीन पल्ट जितेका छन्। गत सिजन म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि र वर्षको सुरुवातमा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका कारण यसपालि रोनाल्डो उत्कृष्ट खेलाडीको दावेदारीमा अगाडि छन्। तर, क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका मेसीले उनलाई कडा टक्कर दिइरहेका कारण पनि शनिवारको खेल दुवै खेलाडीका लागि महत्वपूर्ण मानिएको छ।

यी दुबै खेलाडीले क्लब फुटबलमा गरेको गोललाई जोड्ने हो भने गोल संख्या १ हजार ८६ पुग्छ। यस्तै, यिनीहरूले जितेको ट्रफीलाई जोड्दा ३८ वटा ट्रफी हुन जान्छ। यस्तो अवस्थामा शनिवारको खेलमा रोनाल्डो र मेसीको प्रतिद्धन्द्धीता सबैका लागि रोचकको विषय बन्नु अन्यथा होइन्।

रियल म्याड्रिडविरूद्धको खेलमा मेसीको रेकर्ड त्यति राम्रो छैन्। उनी म्याड्रिडविरूद्ध पछिल्लो पाँच भिडन्तमा गोल गर्नबाट चुकेका छन्। तर, यो सिजन गोल गर्ने मामिलामा रोनाल्डोभन्दा निकै अगाडि मानिन्छन, मेसी।

यसपालि मेसीले आफूले खेलेको १५ खेलमा १८ गोल गरिसकेका छन्। जसमा गोलका लागि उनले सातवटा पास पनि मिलाएका छन्। उनको ‘ला लिगा’ भन्दा च्याम्पियन्स लिगको प्रदर्शन उत्कृष्ट छ। मेसीले च्याम्पियन्स लिगको ४ खेलमा ९ गोल गरेका छन्, जबकी ‘ला लिगा’ को ९ खेलमा ८ गोल मात्र गर्न सफल भएका छन्।

मेसीको तुलनामा रोनाल्डो केहीपछि परेपनि ‘ला लिगा’ मा पछिल्लो दुई खेलपछि उनले उत्कृष्ट पुनरागमन गरेका छन्। रोनाल्डोले यो सिजन १४ खेल खेल्ने क्रममा १० गोल मात्र गरेका छन्। तर, रोचक कुरा उनले ‘ला लिगा’ को ९ खेलमा ८ गोल गरिसकेका छन्। पछिल्लो दुई खेलमा मात्र उनले ५ गोल गरेका छन्। जुन शनिवारको खेलका लागि महत्वपूर्ण मानिन्छ।

गत सिजन मेसीको तुलनामा रोनाल्डोले १० गोल बढि गरेका थिए। उनले ‘ला लिगा’ मा मेसीले गरेको २६ गोलको तुलनामा ३५ गोल गरेका थिए। यसैले पनि दुई खेलाडीको प्रतिद्धन्द्धीतालाई लिएर सबैलाई चासो राखेका हुन्।

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार १६:५९