सकस

kavita

छाडी आएँ परिजन उतै बिर्सिएॅ स्नेह घेरा
सम्झेॅ मैले विगत दिनको जिन्दगी एक फेरा ।
पन्छी जान्छन् वनतिर सधैॅ पाल्नलाई बचेरा
छाडी आफ्नो घर सहरमा बस्छु खोजेर डेरा ।।

ऐले धेरै गरिब लुटिने खेल देख्दै छु जारी
मौका छोपी सबतिर चल्यो पूर्ण कालोबजारी ।
दायाँ बायाँ वरपर सबै तस्करीकै छ डेरा
व्यापारी हुन् तर अब सबै लाग्न थाले लुटेरा ।।

तिर्छौॅ पैसा कतिपय कुरा गर्छ सित्तै दिएझैॅ
लाग्नै छाड्यो अब सहरमा जिन्दगानी जिएझैॅ ।
बाॅधी राख्छन् पयर दुइटै पाइला चाल्न दिन्नन्
पैसा लिन्छन् तर घर धनी दाउरा बाल्न दिनन्न् ।।

छाडी पेसा कति दिन कुरी ग्यास वा तेल खोजूँ
बत्ती आए पलभर टिकी जान्छ के मार्ग रोजूॅ ।
नाघ्नै आॅट्यो शिखर चुचुरा ज्यानमारा महङ्गी
मर्छन् सारा विकल जनता राज्य देखिन्छ जङ्गी ।।

बोली भाका मृदुमय हुने ओठले काम गर्छ
लोभी पापी सहर छ यहाँ नोटले काम गर्छ ।
खाई बस्थेॅ प्रमुदित भई नोटले भात पाके
पन्छी मर्लान् कनक पिॅजराभित्र रोकेर राखे ।।

भुल्दा प्यारो मधुमय धरा पाप लागेर हो कि
छोड्दा टाढा जनक जननी श्राप लागेर हो कि ।
आई डस्छन् कठिन सपना भाग्छ निद्रा तुरुन्त
जाने बस्ने सहर कि उता हुन्छ बेग्लै भिडन्त ।।

पालो पर्खेॅ कति दिन गई ग्यास पाइन्न आमा
भोकै काटेॅ दिन कति यहाॅ खान पाइन्न आमा ।
पाक्ला खाना घरतिर मिठो खान पाए नि हुन्थ्यो
सक्दो चाॅडो अब घरतिरै जान पाए नि हुन्थ्यो ।।

हामी भोग्छौॅ जटिल पल यी गाउँमा शान्ति हुन्छ
हुन्छन् मान्छे सरल र सिधा झल्कँदो कान्ति हुन्छ ।
भोगी यस्तो सकस कसरी जिन्दगानी चलाऊँ
मेरी आमा अब म कसरी फर्कियूँ फेरि गाउँ ।।

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार १६:३९