अश्लील सामग्री हटाउन अदालतको आदेश
राउटे समुदायका युवतीमाथि भएको यौन दुव्र्यवहार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित÷प्रसारित सामग्रीहरू तत्काल हटाउन अदालतले आदेश जारी गरेको छ । जिल्ला अदालत सुर्खेतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा भिडियोहरू हटाउन आदेश गरेको हो । यस्ता सामग्रीहरू राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरू बन्द गराउन पनि अदालतले आदेश दिएको छ ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित÷प्रसारित सामग्रीहरू हटाउन ध्यानाकर्षण गराउनु ।’ जिल्लास्थित पत्रकारहरूको संगठनमार्फत यस्ता सामग्रीहरू प्रचार–प्रसार नगर्न÷नगराउन ध्यानाकर्षण गराउन पनि आदेश भएको हो । आदेशमा यूट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरू हटाउन संघीय सरकारमार्फत विज्ञप्ती जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन भनिएको छ ।
न्यायाधीश डा. आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरू प्रशारण/प्रकाशन गर्नेका विरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपी पठाउन भनिएको छ । यस्तै, संवेदनशील विषयमा जथाभावी सामग्रीहरू प्रशारण÷प्रकाशन गर्ने साइटहरू आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ भने प्रहरीलाई पीडित युवतीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।
अघिल्लो साता दुई जना राउटे युवतीलाई गुर्भाकोट नगपालिकाका तीन जना युवाले होटमा लिएर यौन दुव्र्यवहार गरेको अश्लील भिडिओ बनाइ सामाजिक सञ्जालमा राखेका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जबरजस्ती करणीसहित दुईवटा अभियोगमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः ३० जेष्ठ २०७८, आईतवार ०५:०१
साझा बिसौनी ।