अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ

वीरेन्द्रनगरमा मेडिकल अक्सिजन प्लान्ट निर्माणमा ढिलासुस्ती भएको छ । जेठ महिनाको अन्तिम सातासम्म प्लान्ट जडानको काम सम्पन्न हुने भनिए पनि अहिलेसम्म काम सुरू नभएको हो । चौधरी पाउण्डेशन (सीजी गु्रप) तथा वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा कटकुवा स्वास्थ्यचौकीको हातामा प्लान्ट निर्माण गर्ने भनिएको छ । प्लान्टका लागि जेठ पहिलो सातामा फाउण्डेशनसँग नगरपालिकाले सम्झौता समेत गरिसकेको छ । सम्झौताअनुसार चौधरी फाउण्डेशनको प्राविधिक टोलीले जेठ २५ गतेसम्म प्लान्ट जडान गरिसक्ने जानकारी नगरपालिकालाई गराएको थियो ।

२४ घण्टामा ४० लिटरका एक सय ५० वटा सम्म सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट जडान गर्ने योजना छ । अनुमानित डेढ करोडको लगानीका प्लान्ट निर्माण गर्न लागिएको हो । प्लान्ट सञ्चालनमा लाग्ने सुरूको खर्चलाई ५०÷५० प्रतिशत व्यहोर्ने गरी चौधरी गु्रपसँग सम्झौता भएको नगरपालिकाले जनाएको छ । आधा–आधा खर्च व्यहोरे पनि सञ्चालनको जिम्मा भने नगरपालिकालाई दिइनेछ । सम्झौताअनुसार चौधरी फाउण्डेशनले प्लान्टको मेशिनलगायत पहिलो चरणको निर्माण र जडानको काम गर्नेछ । प्लान्ट जडान खर्च, स्थानको छनोट र जनशक्ति लगायतको व्यवस्थापन नगरपालिकाले गर्ने गरी सम्झौता भएको छ ।

प्लान्ट सञ्चालनका लागि अगाडि बढाइएको योजनालाई जेठ ११ गते मंगलवार बसेको नगर कार्यापालिका बैठकले पास गरेको थियो । नगर प्रमुख प्रमुख देवकुमार सुवेदीले प्लान्ट सञ्चालनका लागि अझै केही समय लाग्ने बताए । ‘अबको केही हप्तामा प्लान्ट सञ्चालनमा आउँछ,’ उनले भने, ‘चौधरी गु्रपले ल्याउने प्लान्ट मेशिन काठमान्डौं आइपुगेको छ । केही दिनमा सुर्खेत आइपुग्ने छ ।’ प्लान्ट जडानपूर्वको फाउण्डेशनको काम सुरू भइसकेकाले मेसिन आउने वित्तिकै जडान गरी अक्सिजन उत्पादन थालिने उनले बताए । उता चौधरी ग्रुपका प्रतिनिधि विजय शाहीले पनि हप्ता दिनभित्रमा प्लान्ट सुर्खेत आइपुग्ने दाबी गरेका छन् ।

प्रदेश सरकारको ६५ लाख अक्सिजन प्लान्टका लागि कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिकालाई ६५ लाख बजेट दिने भएको छ । जसका लागि सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच सम्झौता समेत भइसकेको छ । बिहीवार मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले सम्झौता गरेका हुन् । सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगर नगरपालिकालाई ६५ लाख रूपैयाँ प्रदान गर्ने र वीरेन्द्रनगर नगरपालिकाले कार्यक्रम र बजेटको परिधिभित्र रही उपयुक्त क्षमताको रिफिलिङ सहितको अक्सिजन प्लान्ट सञ्चालन गर्नुपर्ने सम्झौताा उल्लेख छ ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाले प्रदेश अन्तर्गतका सबै सरकारी तथा सामुदायिक अस्पतालहरूलाई सुपथ मूल्यमा अक्सिजन दिनुपर्ने र अक्सिजनको मूल्य निर्धारण सामाजिक विकास मन्त्रालयको समन्वयमा गर्नुपर्ने छ । अक्सिजन प्लान्टको सञ्चालन तथा नियमित मर्मत वीरेन्द्रनगर नगरपालिकाले गर्ने र प्रचलित कानुन बमोजिम आन्तरिक लेखापरीक्षण र अन्तिम लेखा परीक्षण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । वीरेन्द्रनगर नगरपालिका र चौधरी गुप्रको साझेदारीमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टमा खर्च गर्ने गरी मन्त्रालयले रकम दिएको नगर प्रमुख सुवेदीले बताए ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७८, आईतवार ०५:०२