घटेन संक्रमणको जोखिम

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम अझै घटेको छैन । संक्रमणको ‘चेन बे्रक’ गर्न झण्डै डेढ महिनादेखि निषेधाज्ञा जारी रहे पनि संक्रमणदरमा अपेक्षाकृत रूपमा कमी नआएको हो । वैशाख मध्यतिरभन्दा अहिले तुलनात्मक रूपमा संक्रमणदर घटेको भए पनि जोखिम भने कायमै रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बिहीवार कर्णालीमा तीन सय १३ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ४४ दशमलव ७७ प्रतिशतमा संक्रमण देखिएको हो । बिहीवार ६ सय ९९ जनाको परीक्षण गर्दा तीन सय १३ जनामा संक्रमण देखिएको हो । जनस्वास्थ्यविज्ञहरूका अनुसार संक्रमणदर ३० प्रतिशतभन्दा माथि रहनुलाई जोखिमकै अवस्था मानिन्छ । पछिल्ला तथ्याङ्कअनुसार कर्णालीमा संक्रमणदर ४४ प्रतिशत भएकाले जोखिम बढी नै देखिन्छ ।

परीक्षणको दायरा बढाएसँगै केही दिनयता संक्रमणदर बढी देखिएको छ । संघीय सरकारले पठाएको डेढ लाख एन्टिजेन किट प्रदेशका सबै पालिकामा पठाइ परीक्षण थालेपछि संक्रमणदर बढेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको किट प्रदेशमार्फत जिल्ला हुँदै स्थानीय तहमा पठाइएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले अहिले परीक्षण गरिएका मध्ये ४४ प्रतिशतमा कोरोना देखिने गरेको बताए । उनका अनुसार दोस्रो लहरको सुरूमा ९० प्रतिशतसम्म पुगेको संक्रमण जेठको तेस्रो साता ४० प्रतिशतमा झेरको थियो । केही दिनयता पुनः संक्रमणदर बढेको देखिएको छ । ‘गाउँ–गाउँमा परीक्षण थालेपछि संक्रमण चार प्रतिशतले बढेको पाइएको छ,’ उनले भने, ‘गाउँ केन्द्रित गरेर परीक्षण थाल्दा संक्रमण बढेको देखिएको हो ।’

अहिले सहरीभन्दा ग्रामीण क्षेत्रमा संक्रमण बढ्दो छ । कर्णालीका ७९ मध्ये ७५ वटा कोरोेना संक्रमण देखिएको छ । यसअघि ग्रामीण इलाकामा न्यून संख्यामा परीक्षण हुँदै आएको थियो । परीक्षणको दायरा बढेसँगै देखिएको रिजल्टले गाउँ पनि उच्च जोखिममा छन् भन्ने देखाएको निर्देशक खड्का बताउँछन् ।

यतिबेला खेती लगाउने र धार्मिक परम्पराअनुसार कुलदेवताको पूजा गर्ने चलन छ । गाउँमा भिडभाड बढ्ने समय भएकाले संक्रमण फैलिने जोखिम रहेको जनस्वास्थ्यका जानकारहरूले बताउने गरेका छन् । सामान्यतया निषेधाज्ञा लगाएको दुई हप्तामा संक्रमणदर धेरै नै घट्नुपर्ने भए पनि त्यसको पालना नहुँदा जोखिम उस्तै रहेको उनीहरूको भनाइ छ । सहरी क्षेत्रमा निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना भएसँगै संक्रमण दर घटेको छ । तर, गाउँमा भने बेवास्ता हुँदै आएको छ । निषेधाज्ञाको अवधिमा समेत ग्रामीण भेगमा आवागमन घटेको छैन । संक्रमित क्षेत्रबाट गाउँ फर्किनेहरूका कारण झनै जोखिम बढ्दो छ ।

सुर्खेत अझै ‘रेड जोन’मा

कर्णालीमा सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला सुर्खेत हो । सुर्खेत अहिले पनि ‘रेड जोन’ मा छ । यहाँ परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । बिहीवार साँझसम्म जिल्लामा एक हजार तीन सय सक्रिय संक्रमित छन् । तीमध्ये ७४ जना मात्रै विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत छन् भने अरु सबै घरमै छन् । संक्रामक रोगमा पाँच सय भन्दामाथि सक्रिय संक्रमित भएका जिल्लालाई उच्च जोखिमका मानिन्छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोनाको ‘चेन ब्रेक’ नभएको बताए । ‘सुर्खेत रेड जोनमै छ । दुईदिनको अवधिमा पाँच जनाको मृत्यु भयो,’ उनले भने, ‘वैशाख र जेठ महिनाको सुरुवाती जस्तो संक्रमणदर उच्च छैन । केही घटेको छ । तर, जोखिम टरेको छैन ।’ उनका अनुसार सिकिस्त बिरामीको संख्या र मृत्युदरमा भने कमी आएको छ ।

त्यस्तै, दैलेखमा संक्रमणको दर केही घटेको छ । जेठ दोस्रो सातादेखि संक्रमण दरमा थोरैले कमी आएको जनस्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन थिरप्रसाद रेग्मीले जनाए । ‘पहिलेको तुलनामा पोजेटिभ दर केही घटेको छ,’ उनले भने, ‘निषेधाज्ञा खुकुलो बन्दै गएकाले संक्रमण फेरि बढ्ने सम्भावना छ ।’ दैलेखमा पनि अहिले परीक्षणको दर बढाइएको छ ।

सल्यानमा संक्रमण स्थिर छ । स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले त्यहाँ संक्रमणको अवस्था अहिले पनि उस्तै रहेको बताए । रुकुम–पश्चिममा परीक्षणको दर केही मात्रामा खटे देखिए पनि परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा कोरोना पुष्टि हुने गरेको छ । कर्णालीमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या तीन हजार ६ सय ४७ रहेको छ । कोरोना संक्रमणबाट हालसम्म दुई सय ८५ जनाको मृत्यु भएको छ । संक्रमणको दोस्रो लहर सुरू भएसँगै कर्णालीका १० वटै जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी छ ।