सरकारसँग रकमान्तरको विवरण माग
प्रदेशसभाको सार्वजनिक लेखा समितिले कर्णाली सरकारले चालु आर्थिक वर्षमा रकमान्तर गरेको बजेट र बहुवर्षीय योजनाहरूको पुनः विवरण माग गरेको छ । समितिले विषयगत मन्त्रालयहरूबाट आर्थिक वर्षको अन्तिममा भएको रकमान्तर सम्बन्धी सरकारसँग विवरण मागेको हो । बिहीवार बसेको लेखा समिति बैठकले यसअघि माग गरेको विवरण सम्बन्धित विभागीय मन्त्रालयहरूले अस्पष्ट पठाएको भन्दै स्पष्ट ढङ्गले खुलाइ पठाउन निर्देशन गरेको छ ।
सदनबाट पारित भइ सरकारले नीतिगत निर्णय गरीसकेका बहुवर्षीय योजनाहरूको प्रगति विवरण समेत फेरि माग गर्ने निर्णय गरेको समितिका सचिव उपेन्द्र गुरुङले जानकारी दिए । समितिले यसअघि पनि रकमान्तर र बहुवर्षीय योजनाको विवरण मागेको थियो । सरकारले पहिले पठाइएका विवरण अपुग र अस्पष्ट भएपछि समितिले पुनः निर्देशन गरेको हो । मन्त्रालयहरूले पठाएको विवरणका आधारमा अध्ययन गरी प्रतिवेदन बनाउने तयारी समितिको छ ।
यस्तै, बिहीवारको बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम छनोट भएका कार्यक्रमहरूको विवरण समेत माग गरेको छ । समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठ जलस्रोत तथा उर्जा विकासमन्त्रीमा नियुक्त भएकाले ज्येष्ठ सदस्य पदमबहादुर रोकायाको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रकाशित मितिः २८ जेष्ठ २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।