संसद्मा प्रि–बजेट पेस

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन पुनः सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन दिनदेखि अवरुद्ध गरेको संसद् बैठक बिहीवारदेखि कार्यसूचीमा प्रवेश गरेको हो । भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्तीको माग गर्दै आएको एमाले सरकारसँग सहमति जुटेपछि संसद् सुचारु गर्न तयार भएको हो । चार दिनसम्म लगातारको छलफलपछि मन्त्री थापालाई बैठकमा प्रवेश निषेध गर्ने सहमति भएपछि आफूहरू बैठक सञ्चालन गर्न तयार भएको एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए । बजेट अधिवेशनको पहिलो दिन सोमवारदेखि नै बैठक अवरुद्ध हुँदै आएको थियो । सभाको आठौं अधिवेशनको पहिलो बैठक नै कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

यही जेठ ३० गते सर्वोच्च अदालतमा थापाविरुद्ध परेको रिटको पेशी भएकोले सोही दिनसम्म उनलाई संसद् बैठकमा आउन रोक लाइएको छ । सरकारी कागज किर्तेको अभियोग प्रमाणित भएका थापा सार्वजनिक पदमा रहेको भन्दै एमालेले उनलाई पदमुक्त गर्नुपर्ने माग राखेको छ ।

बिहीवारको बैठकमा दलका नेताले दलीय धारणा राखेका थिए । एमाले संसदीय दलका नेता कँडेल, माओवादी केन्द्रको तर्फबाट सांसद् नरेश भण्डारी र राप्रपाका सांसद शोशीला शाहीले दलको धारणा राखेका हुन् । सभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले विनियोजन विधेयक २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरेका थिए । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि असार १ गते बजेट ल्याउने तयारी गरेको छ । बजेट ल्याउनुपूर्व संसद्मा बिहीवारदेखि प्रि–बजेट छलफल सुरू भएको हो ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७८, शुक्रबार ०५:०१