चार सांसदको पुनर्वहाली
‘फ्लोर क्रस’ गरेपछि कारबाहीमा परेका नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसदको पद जोगिएको छ । सर्वोच्च अदालतले ‘फ्लोर क्रस’ गरेर सरकारलाई विश्वासको मत दिने नेकपा एमालेका चार जना सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ ।
पार्टीको ह्वीप उल्लंघन गरेपछि एमालेले माधव नेपाल समूहका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई बर्खास्त गर्ने निर्णय एमालेले गरेको थियो । त्यसपछि आफूहरूमाथिको कारबाही बदर गर्न माग गर्दै उनीहरूले सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकहरूलाई कर्णाली प्रदेशसभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।
माधव नेपाल पक्षधरका चार सांसदले ह्वीप उल्लंघन गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । उनीहरूमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका छन् ।
प्रकाशित मितिः २८ जेष्ठ २०७८, शुक्रबार ०५:०३
साझा बिसौनी ।