मृत्युवरण
कविता
कतै काल भएर कतै अकाल भएर
मृत्यु मेरै छेउछाउबाट जान्छ ।
आफन्तलाई रुवाउँछ, आँसुमा डुबाउँछ
प्रियजनलाई टिपेर लान्छ ।
दया माया शून्य रहेको निष्ठुरी
सँधैभरी यसैगरी चलिरहे छ उसको मनपरि ।
कालले अखानो गर्दा, नाता कुटुम्ब मर्दा
अत्यन्त चिन्तित भइ मलामी जाँदा
मनमा झरी पारेर चिता चिन्दा
गहिरो बैराग लागे पनि
संसार व्यर्थै रहेछ भनी चेतना जागे पनि
बाध्यताले बार हाल्ने व्यवहार नजाग्ने
मरेको देख्दादेख्दै पनि
साँच्चै मरिन्छ झैं सित्ती नलाग्ने ।
एउटा तिथि मितिमा कुनै दिन
अनिवार्य यो प्राण लिन
लुक्दैछिप्दै अवश्य आउँछ
एक प्रहरमा त निश्चय नै उठाउँछ ।
ईतिश्री हुन्छ जीवन लिला,
जब त्यसले समाउँछ ।
न छेक्छ धनले न ओखतिले
न जादू मन्त्रले धपाउँछ ।
हिरिक् हिरिक् भइ छट्पटाउँदा बल जोरले
कस्ला घाँटी झन अठ्याउला छाती बडा कठोरले ।
अन्त्यमा रोकिने छ
बर्षौंदेखि चलिरहेको तातो सास
दुःख–सुख सबै मेटिनेछन् एकैसाथ ।
थामिने छ निरन्तर धड्किरहने धड्कन
ढल्ने छ धेरै हिउँद वर्षा भोगेको प्यारो तन
मक्किएको मूढो समान ।
हुरिमा निभेको दियो झैँ
चकमन्न अन्धकार
जगतै शून्य हुनेछ सारा संसार ।
बहुजनलाई झैँ
हित चिताई धर्मले जुटायो भने
घरकै सेरोफेरोबाट
मृत्युले प्राण उठायो भने
तब पनि शोकले ल्याउनेछ सन्नाटा
फैलने छ तरंग हावामा गाउँ टोलभरी
अलाप विलाप
रुवाबास र चित्कार पुत्ताउने छ घरभरी ।
मेरो मृत्यु सन्देश बोकेको
उल्टो लामो शंखध्वनी चिच्याउने छ बेसरी
लौ आज को मरेछ भनी
टाढा कसैले कान थाप्ने छ घरीघरी ।
शंखको निम्ता पाउने नातागोता
मनकारी दाजुभाइ
मेलामा झैँ ओइरंदै आउनेछन सबै
खट्नेछन मौरी झैँ जुट्नेछन्
कैयौंपटक देखे भेटेकाहरू पनि
अब अन्तिम चोटी हेर्न
तँछाडमछाड गर्नेछन् ।
खुसी बाँडेर कतिलाई रिझाए हुँला
बाँड्न नसक्दा कतिका आँखामा
बिझाए हुँला ।
मनमनमा हजार कुरा खेलाउँदै
आँखा सबको गढिरहँला
आकाश ताकेको उत्तानो लासमा
मूर्दाको नापोमा काटेर
ठुन्काएको आलो बाँसमा
दाजुभाइहरू कस्नेछन् बन्धन त्यसरी
मुटु र कलेजामा
कतै दया माया नभएसरी
कहाँ सकुँला ऐया ऐया गरि कहर कन्न
बिन्तीभाउ गर्न
धौ भयो मलाई दुख्यो भनेर भन्न ।
आफ्ना ईष्टमित्रमा
विगतका दिनहरूमा
यस्तै मोरो पर्दा काल पसेर अन्याय गर्दा
दुनियाँ हेरी विचार गर्न
मन बुझाई आँसु नझार्न
समवेदनाले सुम्सुम्याई सम्झाइयो
कर्तव्य सम्झनु जनले भनी बुझाइयो ।
प्राण खोसिएको मुढो शरीर
सोलामा त्यसरी एकाकार पारी
आँगन छेउ तुलसीको मठनेर सारी
देह शुद्ध पार्न पवित्र तुलसीजल छर्दा
शिर पाउ ढाकी पीताम्बर ओढाउँदै गर्दा
दैवको चोट डाँकोमा फालेर
शोकाकुल परिवारजन
भक्कानिदै चिच्याउनेछन् ।
आपसमा छाँद हालेर
म सक्नेछैन त्यो चित्कार सुनेर रुन
भो भो नरोउ संसार यस्तै हो,
भनेर सान्त्वना दिन ।
टिला र बुर्की छर्दै बाटाभरी
सुरु हुनेछ अनन्त यात्रा
उँदै बगेको खोलो सरि
घर सम्झेर कहिल्यै नआउने गरी ।
दैलाभित्र शरण लियो
आनन्द आश्रय दियो जीवनभर
अन्तिम पटक आँखा खोली हेर्न
सम्म सकिने छैन
पवित्र मन्दिर झैँ प्यारो प्यारो घर ।
माया जस्तो अर्थोक केही छैन
पैसा हालेर किन्न जो सकिदैन
त्यही मायाको गुन तिर्न
दाउरा बोकी आउनेछ्न
मलामीहरू भस्म खरानी पार्न
अग्लो अग्लो मुस्लोमा
झन झन उचालिदै
उन्मत्त बैंसले माते झैँ
दन्कने छ आगो
सर्वाङ्ग नाङ्गो लाचार शरीर
सर्वनास पार्न ।
पुर्खाको नासो मनमा जो ईमान थियोे
निरन्तर त्यसले उर्जा दियो
बाँचुञ्जेल दुश्मनले सकेनन् हेप्न
बल मिचाईँ गरि हेकुलाले चेप्न
जीवन मृत्युमा विलय हुँदा त्यसरी
नातागोता र आफन्तै पनि वैरी
धुवाँसँग तर्कदै घुदै वरिपरि
घोचाले घोच्नेछन घरीघरी
मेरो अङ्ग–अङ्गमा
यातनाको पराकाष्ठा नाघेर
आफ्नो मुटुलाई ढुङ्गो पारेर ।
कहाँ अडिएला प्राण पखेरु
अनन्त ब्रह्माण्डमा गएर
जल्दै बल्दै म सिद्धिरहनेछु
आधा धुवाँ आधा खरानी भएर
पानी ह्वाकेर आगो निभाई चिताको
फर्कनेछन् मलामी धर्म कर्म सकेर
घाट सुनसान रित्तो पारेर ।
हावा सरसर चली रहने छ
पानी निरन्तर बगिरहने छ
जल्न बाँकी भिजेका ताता मुढाबाट
केही छिन वाफ उडिरहने छ ।
म रुझेको खरानी सहाराको खोजीमा
बगरसँग घुलमिल भै मिसिने छु
जसरी मिसिन्थेँ जहाँनसँग,
जसरी छिमेकी आफन्त र ईष्टमित्रसँग
हो त्यसैगरी ।
भोलिपल्ट पनि उदाउने छ घाम
उज्यालिने छ मूर्दाघाट
सेकेन्ड मिनेट र घण्टा भएर
बज्ला समय उसरी नै
तर पाउने छैन यो घडीले
उहि नाडीको अस्तित्व ।
कुन शिरमा बसेर बनाउला
यो टोपीले उसको व्यक्तित्व ।
कसले भिर्ला यो कलम
मुटुसामु कमेजको गोजीमा
कसले राख्ला विचार
कसले हेर्ला मैले हेर्ने चश्माबाट
उज्यालो संसार ।
अभिन्न अंग झैँ मैसँग गाँसिएका
वृक्षमा लता झँ टाँसिएका
मेरा धर्मका यी सत्य सम्पत्तिहरू
टुहुरा भै धरधरी रुन्छन की
जडौरी भै तितरबितर पो हुन्छन कि ।
दिन रात खटेर मेहनतसँग डटेर
मुश्किलले जोडेर पाइ पाइ
कत्रो कष्ट खेपेर दुखै दुःख रोपेर
कमाएको कमाई
रगत पसिनाको पौरख
यतै चटक्क छोडी उसैको शरण
नस्वीकारी धर छैन कसैलाई
जगतमा जन्मेपछी मृत्युवरण ।
साझा बिसौनी ।