संसद् निरन्तर अवरुद्ध
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मर थापालाई नहटाइएसम्म सदन चल्न नदिने नेकपा एमालेको अडानका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन अवरुद्ध हुँदै आएको छ ।
प्रदेशसभाको बैठक तीन दिनयता निरन्तर अवरुद्ध भएको हो । बुधवारको बैठकमा संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको धारणा राखेपछि एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेका थिए । संसद्का काम कारवाही सञ्चालनका लागि निकै प्रयास गरेका सभामुख राजबहादुर शाहीले एमाले पछि नहटेपछि बैठक आधा घण्टाका लागि स्थगित गरे । त्यसपछि पनि बैठक बस्न सकेन ।
यसअघि बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै आएको एमालेले बैठक चलेको पहिलो दिनदेखि नै संसद् अवरुद्ध पार्दै आएको छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक जेठ २४ गते सोमवार दिउँसो २ बजे बोलाइएको थियो । एमालेबाट फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका मन्त्री थापाको बर्खास्तीको माग गर्दै एमालेले संसद् अवरुद्ध ग¥यो । सोमवार कार्यसूचीमा प्रवेश नै नगरी अवरुद्ध भएको संसद् सभामुख शाहीले मंगलवार दिउँसो २ बजेका लागि बोलाएका थिए । मंगलवार पनि एमालेका सांसदहरूले बैठक चल्न नदिने भनेपछि सर्वदलीय सहमतिको प्रयास गरिएको थियो । सहमतिको प्रयास सफल नभएपछि बैठक चल्न सकेन ।
जेठ २६ गते दिउँसो २ बजे बोलाएको बैठकको सुरूमै दलीय धारणा राख्दै एमालेले संसद् अवरुद्ध गरेको हो । फौजदारी अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने एमालेको अडान छ । बुधवार संसद्मा आफ्नो धारणा राख्दै नेता कँडेलले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको समेत बताए । उनले मन्त्री थापाको विषय राजनीतिक प्रतिशोधका रूपमा उठाएको नबुझ्न पनि आग्रह गरे । सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय बैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरे पनि त्यसबाट सरकार भागेको उनको आरोप छ ।
एमालेले नैतिक पतन जस्तो गम्भीर अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई जेठ ३० गतेसम्म सदनमा आउन नदिने सहमति गर्न चाहेको थियो । सरकारले उक्त सहमति गर्न मञ्जुर नभएपछि संसद् अवरुद्ध गर्नुपरेको एमालेका नेताहरूको भनाइ छ । एमालेले संसद् अधिवेशनको कार्यसूचीमा नै प्रवेश गर्न नदिएकाले संसद् अधिवेशन चल्न नसकेको सरकारले जनाएको छ ।
प्रकाशित मितिः २७ जेष्ठ २०७८, बिहीबार ०५:०१
साझा बिसौनी ।