भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

सुर्खेतमा ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । पाँच वटा स्थानीय तहमा आज (बिहीवार) र चार वटा स्थानीय तहमा पर्सि (शनिवार) खोप दिइने छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोप दिइने भएको छ । सुर्खेतमा ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई उक्त खोपको पहिलो डोज लगाउन लागिएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले हरेक स्थानीय तहको स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा गएर खोेप लगाउन अनुरोध गरेको छ । खोप तोकिएका केन्द्रहरूमा बिहान १० बजेदेखि ४ बजेसम्म लगाइने छ ।

सुर्खेतमा पहिलो चरणमा करिब ६ हजारलाई भेरोसेल खोप लगाउने तयारी छ । जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले पाँच हजार नौ सय ८६ जनालाई खोपको पहिलो मात्रा दिन लागेको जनाए । जिल्लाका पाँच वटा स्थानीय तहमा आज (बिहीवार) खोप लगाइँदै छ भने चार वटा स्थानीय तहमा पर्सि (शनिवार) लगाइने तयारी छ । गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकामा आज खोप दिइने छ ।

यस्तै, शनिवार वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा खोप लगाइने छ । नागरिकता वा उमेर खुल्ने अन्य कुनै कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि नगरपालिकाका १६ वटै वडामा रहेका स्वास्थ्य संस्थामा गएर खोप लगाउन नगरवासीलाई सूचना गरेको छ । नगरपालिकाका अनुसार वडा नं. १ स्थित आधारभूत स्वास्थ्य सेवाकेन्द्र धारापानी, वडा नं. २ को उत्तरगंगा स्वास्थ्यचौकी, वडा नं. ३ को आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रगतिनगर र वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र हिलेखालीमा खोप लगाइँदै छ ।

त्यस्तै, वीरेन्द्रनगरको वडा नं. ५ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र चिसापानी, वडा नं. ६ मा बाल मन्दिर परिसर, वडा नं. ७ मा कटकुवा स्वास्थ्यचौकी, वडा नं. ८ मा आधारभूत स्वास्थ्य सेवाकेन्द्र नौलापुर र वडा नं. ९ मा लाटीकोइली स्वास्थ्यचौकीमा खोप लगाइने छ । वडा नं. १० को आधारभूत स्वास्थ्य सेवा केन्द्र घुस्रा, वडा नं. ११ को आधारभूत स्वास्थ्य सेवा केन्द्र पिपिरा, वडा नं. १२ को आधारभूत स्वास्थ्य सेवा केन्द्र नेवारेमा खोप दिइने छ । वडा नं. १३ मा रहेको स्वास्थ्यचौकी जर्बुटा, वडा नं. १४ को स्वास्थ्यचौकी गढी, वडा नंं. १५ को स्वास्थ्यचौकी रतु र वडा नं. १६ को सानीलेख स्वास्थ्यचौकीमा कोरोनाविरुद्धको खोप दिइने नगरपालिकाले जनाएको छ ।

सुर्खेतमा भेरोसेल खोप पहिलो पटक दिन लागिएको हो । यसअघि कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिइएको थियो । पहिलो डोज जुन खोप लगाएको हो दोस्रो डोज पनि उही खोप नै लगाउनुपर्ने हुन्छ । कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई खोप उपलब्ध हुनासाथ लगाइने गरी तयारी गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाइएको छ ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७८, बिहीबार ०५:०२