प्रतिपक्षद्वारा संसद् बैठक निरन्तर अवरुद्ध

 बैठक आधा घण्टाका लागि स्थगित

सुर्खेतः भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने नेकपा एमालेको अडानका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन अवरुद्ध हुँदै आएको छ । प्रदेशसभाको बैठक तीन दिनयता निरन्तर अवरुद्ध भएको हो । बुधवार संसदीय दलका नेता यामलाल कंडेलले आफूहरूको अडान कायमै रहेको धारणा राखेपछि एमालेका सांसदहरूले उठेर  बैठक अवरुद्ध गरेका थिए । सभामुख राजबहादुर शाहीले संसद्  बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

यसअघि बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै आएको एमालेले बैठक चलेको पहिलो दिनदेखि नै संसद अवरुद्ध पार्दै आएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक जेठ २४ गते सोमवारबार दिउँसो २ बजे बोलाइएको थियो । एमालेबाट फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका मन्त्री थापाको बर्खास्तीको माग गर्दै एमालेले संसद अवरुद्ध ग¥यो ।

सोमवार कार्यसूचीमा प्रवेश नै नगरी अवरुद्ध भएको संसद् सभामुख राजबहादुर शाहीले मंगलवार दिउँसो २ बजेका लागि बोलाएका थिए । मंगलवार पनि एमालेका सांसदहरूले बैठक चल्न नदिने भनेपछि सर्वदलीय सहमतिको प्रयास गरिएको थियो । सहमतिको प्रयास सफल नभएपछि वैठक चल्न सकेन । जेठ २६ गते ‐आज) दिउँसो २ बजे बोलाएको वैठकको सुरूमै दलीय धारणा राख्दै एमालेले संसद् अवरुद्ध गरेको हो । फौजदारी अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने एमालेको ‘बटमलाइन’ छ । कर्णाली सरकारले असार १ मा बजेट ल्याउने र त्यसअघि पूर्वबजेट छलफल गराई नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७८, बुधबार १६:०१