राउटे बस्ती प्रवेशमा रोक

राउटे बस्तीमा समाचार संकलन, भिडियो तथा डकुमेन्ट्री बनाउनु परेमा प्रशासनसँग समन्वय गरेर मात्रै प्रवेश गर्न पाइने छ । बाहिरका व्यक्ति उक्त बस्तीमा नजाउन भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राउटे बस्तीमा असुरक्षा बढेपछि अन्य समुदायका मानिसहरूलाई प्रवेशमा रोक लगाइएको छ । राउटे समुदायका दुई जना युवतीहरू यौन दुव्र्यवहारमा परेको घटना बाहिरिएसँगै स्थानीय प्रशासनले राउटे बस्तीमा आवतजावत गर्न रोक लगाएको हो । हाल गुर्भाकोट नगरपालिका–११ आँपसोतीमा बस्दै आएका राउटे समुदायका युवतीमाथि शनिवार राति स्थानीय युवाहरूले यौन दुव्र्यवहार गरेका थिए । युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर उनीहरूले सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ ।

अहिले बस्तीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्तीमा अन्य समुदायका मानिसलाई प्रवेश गर्न दिइएको छैन । गुर्भाकोट नगरपालिकाले समेत राउटे बस्तीमा हुने आवतजावतलाई नियन्त्रण गर्न प्रशासनलाई अनुरोध गरेको थियो । सोहीअनुसार राउटे बस्तीमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । अबदेखि राउटेहरूका बारेमा समाचार संकलन, भिडियो तथा डकुमेन्ट्री बनाउनु परेमा प्रशासनसँग समन्वय गरेर मात्रै प्रवेश गर्न पाइने छ । नगर प्रमुख हस्त पुनका अनुसार सोमवार आँपसोतीबाट बसाइँ सरेर उनीहरू वडा–९ बोटेचौरस्थित भेरी किनारामा गएका छन् । राउटे बस्तीमा बाहिरका व्यक्ति नजाउन भन्नका लागि २० जना सुरक्षाकर्मी खटिएका छन् ।

अन्य समुदायका मान्छेलाई राउटे बस्तीमा आउन रोक्न सहज भए पनि राउटेहरूलाई बाहिर जान नदिन भने चुनौती रहेको नगर प्रमुख पुन बताउँछन् । ‘हामीले सुरक्षाकर्मी खटाएका छौं । तर, उहाँहरूलाई बाहिर जाने कुरामा रोक्न नसकिने रहेछ । जटिबुटी तथा तरकारी खोज्न बाहिर गइरहने हुँदा कसैले घटनाको बारेमा भनिदिन्छकी भन्ने डर छ ।’

राउटे समुदायमा आफ्नै खालका परम्परा र नियम छन् । यो समुदायको मान्यता विपरीत अनुशासन उल्लंघन गरे ज्यानसमेत लिने गरी कारवाही गर्न सक्ने भएकाले यौन दुव्र्यवहारमा परेका पीडित युवतीहरूको ज्यान राउटे समुदायबाटै जोखिममा रहेको अधिकारकर्मीहरूले बताएका छन् । विभिन्न सञ्चारमाध्यममा आएका समाचारले समेत ती युवतीहरूको गोपनियतासँगै ज्यानसमेत जोखिममा पर्न सक्ने अनुगमनका क्रममा देखिएको सरकारी अधिकारीहरूले समेत बताएका छन् ।

यौन दुव्र्यवहारको विरोध

राउटे समुदायका युवतीमाथि भएको यौन दुव्र्यवहारको विभिन्न संघ–संस्थाले विरोध जनाएका छन् । सोमवार उनीहरूले संयुक्त विज्ञप्ती जारी गरी सुर्खेत गुर्भाकोटका तीन जना युवाहरूले दुई जना राउटे युवतीमाथि गरेको यौन दुव्र्यवहार घटनाको कडा विरोध गरेका हुन् । युवतीलाई मदिरा खुवाएर होटलमा लगि यौन दुव्र्यवहार गरिएको घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख समुदायमाथि यूट्युव, टिकट बनाउने निहुँमा दुव्र्यवहार हुने गरेको पाइएकोले बाहिरी संसारका अलग रहेको राउटे युवतीलाई मदिरा खुवाएर अस्मितामाथि खेलवाड गरेकोमा त्यस्तो घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दछौं ।’ यूट्युव भीडीओ र टिकटक बनाउनेहरूलाई उक्त समुदायमा पूर्ण प्रतिबन्ध लगाइनुपर्ने संघ–संस्थाहरूले बताएका छन् । उनीहरूले विज्ञप्तीमार्फत राउटे युवतीको जीवन रक्षाको समेत माग गरेका छन् । मानवअधिकारका लागि एकल महिला समूह, आवाज, दलित महिला संघ, महिला मानवअधिकार रक्षक सञ्जाल, नवज्योति केन्द्र, द्वन्द्वपीडित साझा चौतारी, वाम, स्याक, मानवअधिकार एलायन्स, सुन्दर नेपाल संस्था, संकल्प र अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले संयुक्त विज्ञप्तीमार्फत घटनाको विरोध गरेका हुन् । जारी विज्ञप्तीमा राउटे समुदायको संरक्षण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग अपिल समेत गरिएको छ ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७८, मंगलवार ०५:०१