चार सय ५७ जना संक्रमणमुक्त

कर्णाली प्रदेशभर आइतवार एकैदिन चार सय ५७ जनाले कोरोना जितेका छन् । पछिल्ला केही दिनयता कोरोना संक्रमण पुष्टि हुने भन्दा संक्रमणमुक्त हुनेहरूको संख्या बढ्दै गएको छ । प्रदेशमा हालसम्म कोरोना जित्नेको संख्या १९ हजार पाँच सय ९१ पुगेको छ ।

आइतवार थप दुई सय ६८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । आरटी–पीसीआरमा एक सय २९ र रेपीड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय ३९ जनामा संक्रमण देखिएको हो । योसहित कर्णालीमा सक्रिय संक्रमितको संख्या चार हजार ३७ रहेको छ । अहिलेसम्म प्रदेशभर संक्रमण हुनेहरूको संख्या भने २५ हजार ७५ पुगेको छ । संक्रमित एक जनाको आइतवार मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । मृत्यु भएका कोरोना संक्रमित रुकुम–पश्चिमका हुन् । योसँगै कोरोना संक्रमणबाट प्रदेशभर दुई सय ६८ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, देशभर थप तीन हजार चार सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार चार सय ७१ पीसीआर परीक्षणबाट तीन हजार २४ र तीन हजार दुई सय ६२ एन्टिजेन परीक्षणमा चार सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आइतवार ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

१५ जना कैदीबन्दीमा संक्रमण

जुम्ला कारागारका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका १५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको कारागारका जेलर गयाप्रसाद पाण्डेले बताए । कैदीबन्दीमा ज्वरो आउने, खोकी लाग्ने भएपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमितलाई अहिले कारागारभित्रै छुट्टै आइसोलेसनमा राखिएको छ । कारागारभित्रका दुई महिला र एक सय २१ पुरुष कैदीबन्दी रहेकोमा १५ पुरुष कैदीबदीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि भएका ७७ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जेलर पाण्डेले जानकारी दिए ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७८, सोमबार ०५:०२