एमाले जिल्ला कमिटी पुनर्गठन गरिँदै

नेकपा एमाले सुर्खेतले जिल्ला कमिटी पुनर्गठन गर्ने भएको छ । आइतवार बसेको जिल्ला कमिटी सचिवालय बैठकले समायोजन प्रक्रियाबाट पार्टीको नयाँ कमिटी निर्माण गर्ने निर्णय गरेको हो । बैठकले २०७२ जेठ २ मा रहेको जिल्ला कमिटी र नेकपा एकता हुँदा रहेका एक सय ४५ मध्ये एमालेमै रहेका सबैलाई समायोजन प्रक्रियामार्फत नयाँ कमिटीमा समावेश गर्ने निर्णय गरेको छ ।

सचिवालय सदस्य घनश्याम पाण्डेका अनुसार त्यसका लागि आगामी असार ५ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने छ । जिल्ला कमिटी पुनर्गठन गरी सचिव मोहन बडुवाललाई पदमुक्त गर्ने सचिवालय बैठकले निर्णय गरेको उनले जनाए । माधव नेपाल समूहका बडुवालले केही दिन पहिले आफू अध्यक्ष रहेको समानान्तर जिल्ला कमिटी घोषणा गरेका थिए । उक्त कमिटी र गतिविधिमा सहभागी निर्वाचित जनप्रतिनिधिलाई समेत स्पष्टीकरण सोध्ने र पार्टीको मूलधारमा फर्कन आग्रह गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

यस्तै, एमाले सुर्खेतले कर्णाली प्रदेशसभामा आफ्नो पार्टीको स्पष्ट बहुमत हुँदाहँुदै दलको ह्वीप विपरीत फ्लोर क्रस गरेर माओवादी केन्द्रलाई विश्वासको मत दिइ मन्त्री भएकाहरूलाई सामाजिक रूपमा बहिस्कार गर्ने निर्णय गरेको छ । पार्टी निर्देशन विपरीत गएको भन्दै उनीहरूको कदमलाई एमाले सुर्खेतले राजनीतिक अपराध भनेको छ । सचिवालय बैठकले स्थानीय तहका कमिटीहरूको बैठक गर्ने समयसीमा पनि तोकेको छ ।

आइतवारको सचिवालय बैठकमा अध्यक्ष ध्रुवकुमार शाही, उपाध्यक्ष अमृत बिसीसहित १४ जना सचिवालय सदस्यको उपस्थिति रहेको थियो । बैठकमा प्रदेश इञ्चार्ज यामलाल कँडेल र अनुशासन आयोगका केन्द्रीय सदस्य बालाराम शर्मा पनि सहभागी थिए । एमाले सुर्खेतले प्रतिकूल परिस्थिति भए पनि एकताबद्ध पार्टी निर्माणमा लाग्न नेता–कार्यकर्तालाई अनुरोध गरेको छ । जिल्ला कमिटीले एकताका पक्षमा लाग्न केन्द्रीय कमिटी र जिल्ला नेतृत्वलाई आग्रह गरेको हो ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७८, सोमबार ०५:०१