रोहितको खुट्टाको शल्यक्रिया सफल
सुर्खेत १, चैत्र । नेपाली राष्ट्रिय फूटबल टोलीका मिडफिल्डर रोहित चन्दको बायाँ खुट्टाको एसीएलको सुवाङ जया मेडिकल सेन्टर, सेलंगोरमा शल्यक्रिया गरिएको छ । एमआरआईको रिपोर्टअनुसार शल्यक्रिया गर्नुपर्ने भएपछि रोहित पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।
अर्थोपेडिक सर्जन चान किन यूएनको नेतृत्वमा भएको उनको शल्यक्रियामा चार घन्टा लागेको थियो । ‘शल्यक्रिया सफल भएको छ,’ मलेसियाबाट रोहितका दाइ रविनले आइतबार भने, ‘अब ३–४ दिन अस्पतालमै बस्नुपर्छ । हिंड्नलाई कम्तीमा ५ साता वैसाखीको सहारा लिनुपर्छ । त्यसपछि पुनस्र्थापनाका लागि उपचार गरिनेछ । त्यसैले उनलाई खेलमा फर्कन सात महिनासम्म लाग्ने बताइएको छ ।’
उनलाई २६ पुसमा मलेसियन क्लब ‘टी–टिम एफसी’ ले एक वर्षका लागि अनुबन्ध गरेको थियो । त्यसअघि नेपाली राष्ट्रिय टिमबाट पुसमै भारतको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिप खेल्दा पनि उनी पूर्ण स्वस्थ थिएनन् । घाइते भए पनि उनले मलेसियन सुपरलिगका लागि प्ले–अफको तयारीमा टी–टिमले खेलेका खेलमा पनि मैदानमा ओर्लिएका थिए । टी–टिम १६ माघमा भएको प्ले–अफमा आर्मी एटीममाथि २–१ को जित निकाल्दै सुपरलिगमा छनोट भएको थियो । त्यसमा रोहित पूरा ९० मिनेट नै खेलेका थिए । उनको पछिल्लो खेल त्यही हो ।
साझा बिसौनी संवाददाता ।