पर्यटन व्यवसायीहरुको प्रदेश कमिटी गठन

 नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश कमिटी गठन गरिएको छ । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश नं. ६ का पर्यटन व्यवसायीहरुको भेलाले लंकबहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।

प्रदेश कमिटिको उपाध्यक्षमा चिन्तामणी शर्मा, सचिवमा कविन्द्रकुमार केसी, सहसचिवमा हरीहर कुँवर र कोषाध्यक्षमा नगेन्द्र थापा चयन भएका छन् । सदस्यहरुमा गोपाल वम, रुपलाल बोहोरा, चिन रावत, मनबहादुर रावत, टेकबहादुर शाही, भिरुमान घर्ती, चन्द्रबहादुर रावत, भगवती उपाध्याय, पुष्पराज गिरी, राजेन्द्र रोकाया, भैबहादुर रोकाया, शान्तिप्रसाद शर्मा, गौरीकला चौलागाईँ, शिवराज शर्मा, भिमबहादुर थापा र डा.कविराज पोख्रेल चयन भएका छन् ।

यसअघि भेलाको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवाराज ज्ञवालीले प्रदेश नं. ६ पर्यटनका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकास गर्न सके यो प्रदेश आर्थिक रुपमा पनि समृद्ध हुने बताए । उनले यसका लागि पार्टीले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जनाए । एमालेका पोलिटव्युरो सदस्य यामलाल कंडेलले मुलुककै समृद्धिमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुनसक्ने भन्दै एमालेले यसका लागि पहल गरिरहेको बताए । पर्यटकीय स्थलहरुको पहिचानदेखि पूर्वाधार विकासमा लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापाले मुलुकको आर्थिक समृद्धि र जनताको जीवनस्तर वृद्धि गर्न एमाले गम्भिर रहेको भन्दै यसका लागि पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको धारणा राखे । कार्यक्रममा प्रदेश नं. ६ का विभिन्न जिल्लाका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार ०८:४४