छोरा जन्मँदा बाजागाजा, छोरी जन्मँदा बेवास्ता

chori

स्वास्थ्यचौकीमा एक–दुई दिनको फरकमा बच्चा जन्मिरहन्छन् । कुनै दिन बच्चा जन्मेको धेरैले थाहा पाउँछन् भने कुनै दिन धेरैलाई थाहा हुन्न । घरमै पनि बच्चा जन्मन्छन्, तर सबै बेला सबैलाई बच्चा जन्मियो कि जन्मिएन थाहा हुन्न । बच्चा जन्मेको थाहा दिने एउटा माध्यम हो– बाजागाजा । बाजागाजा बज्नु र नबज्नुको सम्बन्ध छोरा जन्मियो कि छोरी भन्नेसँग हुन्छ ।

धुमधामसाथ बाजागाजा बज्यो भने त्यो घरमा छोरा जन्म्यो भन्ने थाहा हुन्छ । छोरा जन्मेपछि एक दिन मात्रै होइन, ६ दिनसम्म बाजा बज्छ । बाजा बजेपछि त्यो घरमा गाउँलेको भीडभाड सुरु हुन्छ । दुबो लगाउने, भोजभतेर गर्ने र रमाइलो मनाउने गरिन्छ । तर, छोरी जन्मँदा यस्तो कुनै पनि संस्कार गरिँदैन ।

स्वास्थ्यचौकीमा बच्चा जन्माउन आएकी महिलाले छोरा जन्माइन् कि छोरी भन्ने कुरा कालिकोटमा सजिलै थाहा पाइन्छ । छोरा जन्मिए बाजागाजासहित स्वास्थ्यचौकीबाटै स्वागत गरेर आमाछोरालाई घर लगिन्छ । घरमा पुर्याएपछि खसी काटेर गाउँलेलाई खुवाउँछन् । आमाबुबालाई दुबो लगाइदिन आउने मानिसको भीडभाड हुन्छ । छोरी जन्मिए स्वास्थ्यचौकी होस् कि घर सुनसान हुन्छ ।

अनौठो चलन के छ भने यहाँ हरेक घरमा दुई छोरा हुनुपर्छ भन्ने मान्यता छ । मरेपछि अगाडि–पछाडि काँध थाप्ने दुई छोरा हुनैपर्छ भन्ने मान्यता छ । त्यसैले दुई छोराको आसमा १० भन्दा बढी छोरी जन्माउनेहरू गाउँमा भेटिन्छन् । गाउँका अगुवा भनिनेहरूले समेत यो चलन तोड्न सकेका छैनन् ।

लक्ष्मी शाही गाउँ बाल संरक्षण तथा सम्बद्र्धन समिति दाहाँकी अध्यक्ष हुन् । उनका तीन छोरी र एक छोरा छन् । पहिलो सन्तान छोरी भई, दोस्रो छोरा । यतिले मात्रै पुगेन, दुईवटा छोरा त चाहियो नै । घरपरिवारले दबाब दिएपछि उनले थप दुई सन्तान जन्माइन् । ती दुई सन्तान छोरी नै भए । अहिले उनलाई तनाव भइरहेको छ । अझै अर्को छोराका लागि बच्चा जन्माउने सोचमा छन् ।

‘कालिकोटका धेरैजसो गाउँमा दुई छोरा चाहिन्छ भन्ने मान्यता छ । एउटा छोरालाई केही भइहाल्यो भने के गर्ने भन्छन्,’ शाहीले भनिन्, ‘दुई छोरा जसरी पनि चाहिन्छ भन्छन् ।’ एउटा छोराका लागि धेरै छोरी जन्माएका उदाहरण अन्य जिल्लामा पनि छन् । तर, एउटा छोरा भइसकेपछि पनि दोस्रो छोराका लागि बच्चा जन्माइरहने अनौठो चलन कालिकोटमा देखिन्छ । त्यसैले पहिलोभन्दा दोस्रो छोराको खुसीयालीमा धुमधामसँग बाजागाजा गरिन्छ यहाँ ।

दाहाँ– ६ सेरा गाउँका पर्वे विकका आठ छोरा छन् । छोरा जति धेरै भयो उति राम्रो भन्ने चलनका कारण उनले धेरै सन्तान जन्माए । ‘कम्तीमा दुई छोरा त जसरी पनि चाहिन्छ भन्ने छ,’ उनले भने, ‘त्यही कारण धेरै छोरा जन्मिए ।’

राष्ट्रिय जनगणना ०६८ अनुसार कालिकोटमा जम्मा २३ हजार १३ घरधुरीमध्ये ८ जना सदस्य रहेको परिवार २ हजार १ सय ९५ र ९ जनाभन्दा बढी सदस्य रहेको परिवार ३ हजार १ सय ५९ छन् । जब कि छिमेकी जिल्ला जुम्लामा ८ जनाको परिवारसङ्ख्या १ हजार ४ सय ७९ र ९ जनाभन्दा बढीको परिवार २ हजार १४ छ ।

कालिकोटमा छोरा नजन्मिए दोस्रो विवाह गर्ने चलन सामान्यजस्तै छ । यहाँ छोराकै लागि दोस्रो विवाह गर्नुलाई सहज रूपमा लिइन्छ । बहुविवाहको अनुपात हेर्ने हो भने महिलाभन्दा पुरुष दुई गुणा बढी छन् । जनगणना ०६८ अनुसार बहुविवाह गर्ने महिला ६ सय ९५ छन् भने पुरुष दुई गुणा बढी अर्थात् १ हजार ५ सय ५५ जना छन् ।

दुई छोरा जन्माउने आसमा बच्चा जन्माउँदा–जन्माउँदा धेरै महिलाको स्वास्थ्य अवस्था जोखिममा परेको स्वास्थ्यचौकी दाहाँकी इन्चार्ज रूपा भण्डारी बताउँछिन् । ‘जन्मान्तर पनि निकै कम छ,’ उनले भनिन्, ‘दुई छोराको आसमा धेरै बच्चा जन्माउने चलनले महिलाको जीवन कष्टकर भएको छ ।’

दाहाँकी स्वास्थ्य स्वयम्सेविका दानकला शाहीले यो परम्परा बदल्न मुस्किल परिरहेको बताइन् । ‘जति सम्झाउन खोज्दा पनि मान्दैनन् । दुई छोरा नभए मर्ने बेला कसले फाल्छ भन्छन्,’ उनले भनिन्, ‘महिला बच्चा जन्माउने मेसिनजस्तै भएका छन् । छोराकै आसमा धेरै घरमा ५–६ जना छोरी छन् ।’

छोरीलाई सन्तान नै नमान्ने चलनले चर्को विभेद भइरहेको स्वास्थ्य स्वयम्सेविका पदमकला चौलागाईंले बताइन् । ‘छोरा जन्मँदा बाजागाजा बज्छ । छोरी जन्मँदा बेवास्ता हुन्छ । आमाले नै अपमान र हीनताबोध महसुस गर्छन्,’ उनले भनिन्, ‘हरेक महिलालाई दुर्ई छोरा जन्माउन सकिँदैन कि भन्ने त्रास हुन्छ । नजन्माए लोग्नेले अर्को बिहे गर्ने खतरा हुन्छ ।’

शिक्षाको स्तर बढ्दै गए पनि यो चलन हटाउन नसकिएको दाहाँका शिक्षक दानसिंह सेजुवालले बताए । हरेक गाउँमा एउटै खालको सोचाइ र परम्परा रहेकाले त्यो बदल्न गाह्रो भइरहेको उनले बताए ।

दुई छोरा चाहिन्छ भन्ने सोचाइले सन्तान धेरै जन्मिएर बालबालिका जोखिममा पर्ने समस्या रहेको दाहाँका गाविससचिव शरण बडुवालले बताए । ‘धेरै सन्तान भइसकेपछि खानपिन, पोषण, हेरचाह, स्वास्थ्य सुविधा पठनपाठनमा समस्या हुन्छ । यसले बालबालिकाको भविष्य खतरामा पर्छ,’ बडुवालले भने, ‘बालबालिकाको भविष्यबारे सोच्नेभन्दा आफ्नो वंश धान्ने र मरेपछि स्वर्ग जाने कुरालाई बढी महत्व दिइएकाले यस्तो भएको हो ।’
(सञ्चारिका फिचर सेवाबाट)