किट अभावले परीक्षणबाटै वञ्चित
सल्यानको कालीमाटी गाउँपालिकाले हालसम्म एक सय ६७ जनाको मात्रै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरेको छ । आरटी–पीसीआरबाट एक सय ५१ जना र रेपीड–एन्टिजेन विधिबाट १६ जनाको कोरोना परीक्षण भएको हो । यहाँ अहिलेसम्म ९७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले किट अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको जनाएको छ । पालिकाले कोरोनासँग मिल्दो लक्षण भएका सिकिस्त बिरामीको मात्रै परीक्षण गर्दै आएको छ । अहिलेसम्म एक सय वटा भीटीएम र ७५ वटा रेपीड–एन्टिजेन किट प्रदेश तथा संघीय सरकारबाट प्राप्त भएको र ५० वटा एन्टिजेन किट गाउँपालिका आफैंले खरिद गरेको स्वास्थ्य शाखा प्रमुख गारेखबहादुर थापाले बताए । ‘किट अभावमा परीक्षणको दायरा बढाउन सकिएको छैन,’ उनले भने । दुई साता अघिसम्म फाटफुट परीक्षण हुँदै आएकोमा अहिले स्वाब संकलनका लागि आवश्यक किट नहुँदा रोकिएको उनको भनाइ छ ।
त्यस्तै, ताजाकोट गाउँपालिका हुम्लाले समेत हालसम्म एक सय १५ जनाको मात्रै कोरोना परीक्षण गरेको छ । कोरोनाको भाइरसको दोस्रो लहर आएसँगै गाउँपालिकाले सो संख्यामा परीक्षण गरेको हो । यसअघि ताजाकोटमा कोरोना परीक्षण भएको थिएन । हालसम्म परीक्षण गरिएका ३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३० जना भने संक्रमणमुक्त भइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङ्गकुले जानकारी दिए । उनकाअनुसार पालिकाले उक्त संख्यामा कोरोना परीक्षण किट खरिद गर्दा चार लाख ५० हजार खर्च भएको छ । स्वाब संकलनका लागि किट अभावमा पालिकाले गम्भीर प्रकृतिका लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने गरेको छ । ‘किटको समस्या नै छ,’ स्याङ्गकुले भने ‘हामीहरूले कोरोना भाइरसको लक्षण भएकाहरूलाई मात्रै परीक्षण गर्दै आएका छौं ।’
कालीमाटी र ताजाकोट मात्र होेइन कर्णाली प्रदेशका अधिकांश पालिकाहरूलाई कोरोना परीक्षणमा समस्या छ । स्वाब संकलन गर्ने किट तथा ल्याबको सहज पहुँच नहुँदा गाउँ–गाउँमा सिकिस्त बिरामीहरूसमेत परीक्षणबाट वञ्चित छन् । यतिबेला कोरोना भाइरसको संक्रमण गाउँ–गाउँमा पुगेको छ । सहरमा भन्दा ग्रामीण क्षेत्रमा कोरोना भाइरसको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । ग्रामीण क्षेत्रमा कोरोना भाइरसको परीक्षणलाई तीव्र नबनाएको खण्डमा भाइरस नियन्त्रणमा आउन अझै समय लाग्न सक्ने उनीहरूको भनाइ छ । पछिल्ला दिनमा ग्रामीण भेकमा ज्वरो र खोकीका बिरामीको संख्या पनि बढेको छ । संक्रमणको जोखिम गाउँतिर सोझिए पनि सोहीअनुसारको सामग्री तथा पूर्वाधारको अभावमा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सुर्खेतका प्रमुख डा. रविन खड्काले पर्याप्त नभए पनि प्रदेशभरका स्थानीय तहहरूका किट पठाइरहेको बताए । उनका अनुसार निर्देशनालयले हालसम्म विभिन्न पालिकामा गरी एक लाख ५५ हजार परीक्षण किट पठाएको छ । रेपीड–एन्टिजेन किट प्रदेशका नौ वटा स्वास्थ्य सेवा कार्यालयहरूमा पठाइसकेको उनले बताए । ‘डोल्पामा मात्रै पठाउन बाँकी छ । त्यहाँ पनि पठाउने तयारी भरहेको छ,’ उनले भने । संक्रमणको अवस्था र जनसंख्यालाई विश्लेषण गरी सोही आधारमा निर्देशनालयले किट तथा अन्य स्वास्थ्य सामग्री पठाउने गरेको छ । संक्रमण धेरै भएको जिल्लामा बढी र कम भएको जिल्लामा थोरै गरी कोरोना परीक्षण किट पठाउने गरिएको हो ।
कर्णाली प्रदेशभर पहिलो तथा दोस्रो लहरको कोरोना संक्रमणमा गरी जम्मा एक लाख ४० हजार चार सय ४४ जनामा परीक्षण गरिएको छ । जसमा एक लाख १६ हजार एक सय ५२ जनाको आरटी–पीसीआर र २४ हजार दुई सय ९२ जनाको रेपीड–एन्टिजेनबाट परीक्षण भएको छ । हालसम्म प्रदेशभर २३ हजार नौ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश निर्देशनालयको तथ्याङ्क छ ।
पाँच सय बढी संक्रमणमुक्त
कर्णालीमा पछिल्लो समय कोरोना जित्नेको संख्या पनि बढ्दै गएको छ । बुधवार र बिहीवार गरी झन्डै १२ सय जना संक्रमणमुक्त भएका छन् । बिहीवार एकैदिन पाँच सय ३० जनाले कोरोना जितेका हुन् । जेठ दोस्रो सातादेखि दैनिक संक्रमण पुष्टि हुनेको दरभन्दा संक्रमणमुक्त हुनेको दर धेरै छ । संक्रमण पुष्टि हुनेभन्दा झन्डै दोब्बर संख्यामा संक्रमणमुक्त हुने गरेका छन् । संक्रमणको दरमा कमी आए पनि जोखिम भने कायमै रहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै, बिहीवार थप दुई सय ८० जना नयाँ संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार सुर्खेतमा ८९, रुकुम–पश्चिममा ६७, जाजरकोटमा २६, दैलेखमा २२, मुगुमा २१, कालीकोट र सल्यानमा १७÷१७, जुम्लामा १०, हुम्लामा दुई र डोल्पामा एक जना तथा अन्य प्रदेशका तर कर्णालीमा रहेका तीन जनामा संक्रमण देखिएको हो । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा चार हजार नौ सय ६६ जना सक्रिय संक्रमित छन् । बिहीवार नै थप ६ जनाको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या एक सय सय ५७ पुगेको छ ।
प्रकाशित मितिः २१ जेष्ठ २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।