जनशक्ति व्यवस्थापन गर

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै आक्रान्त बनायो । नेपालको स्वास्थ्य अवस्थामाथि ठूलो चुनौती बनेर उभियो । झन कर्णाली प्रदेशको कमजोर स्वास्थ्य संरचनालाई कोरोना महामारी सजिलो हुने विषय नै थिएन । तर सुरुवातमा अलिक ढिला भित्रिएका कारण कर्णालीले केही राहत महसुस ग¥यो । जब भित्रियो त्यसको असर गाउँगाउँसम्म देखियो । हजारौंको संख्यामा संक्रमित भए केहीले ज्यान गुमाए, धेरैले भने रोगलाई जितेर फर्किए । अहिले कोभिडकै दोस्रो लहर चलेको छ । यसको असर कर्णालीमा पनि परेको छ । दैनिक सयौंका संख्यामा संक्रमित थपिएका छन् । मृत्यु हुनेहरूको संख्या पनि थपिँदै गएको छ । यो कोरोनाकाल एकातर्फ चुनौतीपूर्ण महामारी बनेर आयो भने सँगसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि अवसर पनि बनेको छ ।

कोरोना कहर सुरु हुनुअघिदेखि नै कर्णालीमा स्वास्थ्य पूर्वाधारको अवस्था निकै कमजोर थियो । सुर्खेत र जुुम्लाबाहेकका जिल्लामा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर जस्ता सेवा थिएनन् । तर अहिले त्यसमा धेरै सुधार भएको छ । कोभिड भएपछि सिकिस्त बिरामीलाई पनि तत्कालै जिल्लामै उपचार गर्न सकियोस् भनेर सबै जिल्ला अस्पतालको स्तरोन्नति र अन्य पूर्वाधारको विकासमा जोड दिइयो । संघीय र प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएरै लगानी पनि गरे । स्थानीय तहहरूले समेत आफ्नै अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए । अहिले कर्णालीका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर जस्ता सेवा छन् भने पालिकास्तरमा कोभिड अस्पतालहरू सञ्चालन गरिएको छ । यसहिसाबले हेर्दा कोरोना महामारी कर्णालीका नागरिकलाई कहर मात्रै होइन यहाँको स्वास्थ्य क्षेत्र सुधार गर्ने अवसर बनेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभर अहिले ७३ वटा आईसीयू बेड र ३८ वटा भेन्टिलेटर छन् । जुम्लामा १५, सुर्खेतमा १०, कालीकोटमा चार, सल्यान, हुम्ला र दैलेखमा दुई–दुई वटा तथा जाजरकोट, डोल्पा र रुकुम–पश्चिममा एक–एक वटा भेन्टिलेटर छन् ।

पूर्वाधारको विकास भए पनि कर्णाली स्वास्थ्य क्षेत्रले भोग्दै आएको समस्याको पूर्ण समाधान भने भइसकेको छैन । जनशक्तिको अभाव भने अहिले पनि उस्तै छ । आवश्यक जनशक्ति नपाउँदा स्वास्थ्य संस्थाहरूले प्रभावकारी उपचार सेवा दिन सकेका छैनन् । यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन् । आवश्यक जनशक्ति नहुँदा दुर्गम जिल्लामा सेवा प्रभावित हुने गरेको हो । सहरी क्षेत्रमा रहेका अस्पतालहरूमा समेत विशेषज्ञ सेवा पाउन मुस्किल छ । अहिले पनि दुर्गम जिल्लाबाट गम्भीर प्रकृतिका बिरामीहरूलाई उपचारका लागि सुर्खेत, जुम्ला र नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा पर्याप्त उपकरण भए पनि सञ्चालन गर्ने जनशक्ति छैन । संकटको बेला व्यवस्थापन गरिएका स्वास्थ्य उपकरण थन्किएका हुन् । जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगमा नआउँदा गम्भीर प्रकृतिका बिरामीलाई सुर्खेत वा नेपालगञ्ज रेफर गरिँदै आएको छ । अब पूर्वाधारका साथसाथै आवश्यक जनशक्ति व्यवस्थापमा सरकारको ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७८, शुक्रबार ०५:००