कोरोनाकालमा कर्णालीको स्वास्थ्य: पूर्वाधारमा फड्को, जनशक्ति अभाव उस्तै
गतवर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु हुनुअघि कर्णालीमा स्वास्थ्य पूर्वाधारको अवस्था निकै कमजोर थियो । सुर्खेत र जुुम्लाबाहेकका जिल्लामा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर जस्ता सेवा थिएनन् । कोरोनाले कर्णालीमा स्वास्थ्य संकट मात्र ल्याएन पूर्वाधार विकासको अवसर पनि दियो । कोरोनाकालमा प्रदेशको स्वास्थ्य पूर्वाधारले फड्को मा¥यो । कोभिड भएपछि सिकिस्त बिरामीलाई पनि तत्कालै जिल्लामै उपचार गर्न सकियोस् भनेर सबै जिल्ला अस्पतालको स्तरोन्नति र अन्य पूर्वाधारको विकासमा जोड दिइयो । संघीय र प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएरै लगानी पनि गरे । स्थानीय तहहरूले समेत आफ्नै अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए ।
अहिले कर्णालीका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर जस्ता सेवा छन् भने पालिकास्तरमा कोभिड अस्पतालहरू सञ्चालन गरिएको छ । कोरोना महामारी कर्णालीका नागरिकलाई कहर मात्रै होइन यहाँको स्वास्थ्य क्षेत्र सुधार गर्ने अवसर बनेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभर हाल ७३ वटा आईसीयू बेड र ३८ वटा भेन्टिलेटर छन् । जुम्लामा १५, सुर्खेतमा १०, कालीकोटमा चार, सल्यान, हुम्ला र दैलेखमा दुई–दुई वटा तथा जाजरकोट, डोल्पा र रुकुम–पश्चिममा एक–एक वटा भेन्टिलेटर छन् ।
पूर्वाधारको विकास भए पनि जनशक्तिको अभाव भने अहिले पनि उस्तै छ । आवश्यक जनशक्ति नपाउँदा स्वास्थ्य संस्थाहरूले प्रभावकारी उपचार सेवा दिन सकेका छैनन् । यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन् । आवश्यक जनशक्ति नहुँदा दुर्गम जिल्लामा सेवा प्रभावित हुने गरेको हो । सहरी क्षेत्रमा रहेका अस्पतालहरूमा समेत विशेषज्ञ सेवा पाउन मुस्किल छ । अहिले पनि दुर्गम जिल्लाबाट गम्भीर प्रकृतिका बिरामीहरूलाई उपचारका लागि सुर्खेत, जुम्ला र नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा पर्याप्त उपकरण भए पनि सञ्चालन गर्ने जनशक्ति छैन । संकटको बेला व्यवस्थापन गरिएका स्वास्थ्य उपकरण थन्किएका हुन् । जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगमा नआउँदा गम्भीर प्रकृतिका बिरामीलाई सुर्खेत वा नेपालगञ्ज रेफर गरिँदै आएको छ । जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना नियन्त्रण फोकल पर्सन थीरप्रसाद रेग्मीले दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण भए पनि विशेषज्ञ सेवा दिन नसकिएको बताए । उनी भन्छन्, ‘जिल्ला अस्पतालमा दुई वटा भेन्टिलेटर छन् । तर, हामीसँग सञ्चालन गर्ने जनशक्ति छैन् । गम्भीर बिरामी रेफर गर्नुपर्छ ।’
सल्यानमा पनि जनशक्तिको अभावले भेन्टिलेटर प्रयोगविहीन छ । सिकिस्त बिरामीलार्ई सुर्खेत र नेपालगञ्ज रेफर गर्ने गरिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा थन्किएको बताए । कर्णालीमा कोरोना संक्रमण अत्यधिक भएको जिल्लामध्ये पर्छ सल्यान । यहाँ कोभिड संक्रमितको मृत्युुदर समेत धेरै छ । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । ‘गम्भीर बिरामी अस्पताल आउँदा समस्या हुन्छ,’ पुनले भने, ‘अस्पतालमा उपकरण छन् । दक्ष जनशक्ति छैनन् । हामीले रेफर गर्ने भनेको बाहिर नै हो ।’
गत वर्ष कोरोनाको महामारी सुरू हुने बेलामा कालीकोटमा आईसीयू र भेन्टिलेटर सेवा व्यवस्थापन गरिसकिएको थियो । तर, अहिले पनि त्यहाँबाट जुम्ला र सुर्खेतमा बिरामी रेफर गर्ने गरिएको छ । उपकरण सञ्चालन गर्ने जनशक्ति नभएपछि भेन्टिलेटर सेवा सञ्चालन हुन सकेको छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कालीकोटमा चार वटा भेन्टिलेटर छन् । आफ्नै अक्सिजन प्लान्ट नहुनु, जनशक्ति अभाव र अनियमित विद्युतका कारण आईसीयू र भेन्टिलेटर सञ्चालनमा कठिनाइ भएको जिल्लास्थित कोरोना विशेष अस्पतालका डा. राजकमल कार्कीले बताए । जनशक्ति व्यवस्थापन नभएसम्म सेवा सेवा प्रभावित हुने उनी बताउँछन् ।
निर्देशनालयले आवश्यक जनशक्ति नहुँदा सुर्खेत र जुम्ला बाहेकका जिल्लामा स्वास्थ्य उपकरण सञ्चालनमा समस्या हुने गरेको जनाएको छ । निर्देशक डा. रविन खड्काले भेन्टिलेटर सञ्चालनका लागि दुर्गम जिल्लामा जनशक्तिको अभाव रहेको बताए । ‘हामीले विज्ञापन गरेका छौं । तर, दक्ष जनशक्ति कर्णाली आउँनै चाहँदैनन्,’ उनले भने । डा. खड्काका अनुसार भेन्टिलेटर सञ्चालन सम्बन्धी दुई पटक तालिम समेत सञ्चालन गरियो । तर, जनशक्तिको अभाव भने टरेन । भेन्टिलेटर सञ्चालनका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा दुुई जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चार जना जनशक्ति छन् । यस विषयमा दक्षता हासिल गरेका कमै पाउने भएकाले डाक्टर, नर्सहरूलाई नै क्रिटीकल केयर सम्बन्धी विशेष तालम दिएर उपकरण सञ्चालनको तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
कोरोना भाइरसको महामारी सुरू हुनुअघि प्रदेशका सुर्खेत र जुम्लामा आईसीयू १७ शैड्ढया र भेन्टिलेटर ६ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त स्वास्थ्य पूर्वाधार र उपकरणहरू थिएनन् । यो अवधिमा स्वास्थ्य पूर्वाधारमा सुधार भए पनि जनशक्ति अभावका कारण अस्पतालहरूलाई गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहमा भने निकै चुनौती देखिएको छ ।
प्रकाशित मितिः २० जेष्ठ २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।