कोरोना प्रतिकार्यमा स्वयम्सेवक खटाइने

कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा प्रतिकार्यका लागि स्वयम्सेवक खटाउने भएको छ । मन्त्रिपरिषद् बैठकले संक्रमण नियन्त्रण, संक्रमितको उद्धार तथा उपचार र सव व्यवस्थापनमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले महामारी नियन्त्रण, व्यवस्थापन तथा प्रतिकार्यका लागि स्वयम्सेवक परिचालन गर्न लागिएको जनाइन् । प्रदेशका दुर्गम जिल्लाबाट संक्रमितलाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ । संक्रमितको उद्धार, उपचार र मृत्युपछि सव व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । यसको समाधानका लागि कर्णाली सरकारले स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

कर्णालीमा स्वयम्सेवक खटाउनु अघि सेवा गर्न इच्छुकहरूलाई सार्वजनिक रूपमा आह्वान गरिने छ । यसरी छनौट भएका स्वयम्सेवकहरूले गाउँ–गाउँमा पुगेर कोरोना संक्रमणबारे जनचेतना फैलाउनेदेखि मृतकको सव व्यवस्थापनसम्मका काम गर्नुपर्ने छ । स्वयम्सेवकलाई सामान्य खाजाको व्यवस्था गरेर कोरोना प्रतिकार्यमा खटाउने तयारी सरकारको छ । स्वयम्सेवकले अस्पतालमा औषधि तथा अक्सिजनको सहज आपूर्ति र संक्रमितको रेखदेख लगायतका काम पनि गर्नेछन् ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूको समयावधि पनि थप गरेको छ । करार अवधि सकिएका कर्मचारीको असार मसान्तसम्म म्याद थप गरिएको हो । रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको छ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०७८, बिहीबार ०५:०२