आँगनका सरकारको आड
कर्णाली प्रदेशमा ६ हजार बढी कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितहरू घरमा छन् । होम–आइसोलेसनमा रहेका उनीहरूमा शारीरिक र मानसिक समस्याहरू देखिने गरेका छन् । यहीँ अप्ठ्यारो परिस्थितिमा नागरिकका लागि सारथी बनेका छन् स्थानीय सरकार । संक्रमितको उपचार र रेखदेखको पहिलो जिम्मेवारी स्थानीय तहले निभाउँदै छन् । स्थानीय सरकार कोभिड संक्रमितको निगरानीमा खटिएका हुन् ।
यतिबेला स्थानीय तहका जनप्रतिनिधि घरदैलो अभियानमा छन् । अक्सर चुनावताका मात्र नागरिकका आँगनमा झुल्कने उनीहरू यसपाली भने संकटका सारथी बनेर घर–घरमा पुगेका हुन् । संक्रमणले घरमै थलिएकाहरूले नजिकका सरकारबाट आड–भरोसा पाएका छन् । जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको टोली संक्रमितको घरदैलोमा पुगेर हेरचाहमा जुटेका छन् । आपतका बेला आड पाएपछि संक्रमितहरूले आत्मबल बढेको बताउने गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले औषधि तथा स्वास्थ्य सामग्रीसहितको ‘कोरोना किट’ तयार गरेर घरदैलो गरिरहेको छ । नगर उपप्रमुख मोहनमाया ढकालले होम–आइसोलेसनमा रहेका संक्रमितहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीहरूको टोलीसहित आफूहरू घर–घरमा पुग्ने गरेको बताइन् । ‘कोभिड प्रभावित अधिकांश घरमै हुनुहुन्छ,’ उनी भन्छिन्, ‘उहाँहरूको स्वास्थ्य अवस्था बुझ्ने र मनोबल बढाउन लागिरहेका छौं ।’ उनका अनुसार वडामा रहेका स्वास्थ्यचौकीका प्रमुखको नेतृत्वमा जनप्रतिनिधिसहित घरदैलो अभियान भइरहेको छ । पालिकाको टोलीले संक्रमितलाई भेटेर आवश्यक परामर्श, औषधि र स्वास्थ्य सामग्री वितरण गर्ने गरेको हो । संक्रमितको अक्सिजन लेभल हेर्ने, ज्वरो नाप्ने, घरमै सम्भव हुने प्राथमिक उपचार गर्ने तथा परामर्श जस्ता सेवा उक्त टोलीले दिँदै आएको छ । वीरेन्द्रनगरले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि परीक्षण, संक्रमितको निगरानी, जनचेतना र उपचारका लागि कोभिड अस्पताल समेत सञ्चालनमा ल्याएको छ ।
यस्तै, भेरीगंगा नगरपालिकाले पनि होम आइसोलेसनमा रहेका संक्रमितलाई पौष्टिक आहार तथा स्वास्थ्य सामग्री सहयोेग गरिरहेको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले होम आइसोलेसनमा रहेकाहरूलाई मनोबल बढाउन परामर्श समेत दिने गरेको छ । नगर उपप्रमुख रेणु आचार्यले घरघरमै पुगेर पौष्टिक आहार र स्वास्थ्य सामग्री सहयोग गर्नुका साथै मनोबल उच्च बनाउन परामर्श दिने गरिएको बताइन् । नगरपालिकाको टोलीले स्वास्थ्य समस्या भएका ६ सय २१ जनालाई घरमै पुगेर भेटेको उनी बताउँछिन् । ‘आवश्यक सुझाव, पौष्टिक आहार र स्वास्थ्य सामग्री दिने गरेका छौं,’ उनले भनिन् ।
सल्यानको शारदा नगरपालिकामा कोरोना संक्रमणको उच्च जोखिम छ । यहाँ दैनिक नयाँ संक्रमित थपिने गरेका छन् । नगर प्रमुख सुरेश अधिकारीका अनुसार अधिकांश लक्षणसहितका संक्रमित घरमै छन् । उपचार गर्नुपर्ने संक्रमितहरू पनि अक्सिजन अभावका कारण अस्पतालमा भर्ना हुन पाएका छैनन् । कोरोना संक्रमितलाई घरमै निको बनाउन स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिहरू घरदैलो गर्ने गरेको उनले बताए । ‘हामीसँग स्रोत साधन जनशक्तिको अभाव हुँदाहुँदै संक्रमण नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौें,’ उनले भने । संक्रमितको स्वास्थ्य अवस्था बुझेर सोही अनुसारको उपचारका लागि सुझाउने गरेको उनले बताए । शारदा नगरपालिकाले चालु आर्थिक वर्षको विकास बजेट कटौती गरेर कोरोना प्रतिकार्यमा खर्चिएको छ । प्रदेश र संघीय सरकारबाट कोभिड नियन्त्रण तथा उपचारका लागि कुनै सहयोग नपाएको नगर प्रमुख अधिकारी बताउँछन् ।
त्यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा पनि अहिले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोलीले गाउँ–गाउँमा पुग्ने गरेका छन् । कोरोना परीक्षण र उपचारका लागि आफूहरू समुदायमा केन्द्रित भएको नगर प्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई परीक्षण गर्न लगाउने, होम आइसोलेसनमा रहेकालाई परामर्श गर्ने र आवश्यक औषधिको व्यवस्था मिलाउने काम गरिरहेको छ । नगरपालिकामा १५ शैड्ढयाको कोरोना अस्पताल सञ्चालनमा छ ।
कोरोना परीक्षणको दायरा बढाउन समेत स्थानीय तहहरू लागिपरेका छन् । समुदायमा संक्रमण व्यापक बनेपछि पालिकाहरूले परीक्षणलाई जोड दिएका हुन् । आफै किट खरिद गरेर परीक्षणको दायरा बढाइएको पालिकाहरूले बताएका छन् । स्थानीय तहको सक्रियतासँगै गाउँटोलमा पीसीआर परीक्षणका लागि स्वाब संकलन तथा एन्टिजेन विधिबाट परीक्षण थालिएको छ । सिम्ता गाउँपालिकाले होम आइसोलेसनमा बसेका र कोरोनासँग मिल्दो लक्षण देखिएकाको घरमै गएर परामर्श दिने गरेको अध्यक्ष कविन्द्रकुमार केसीले बताए । उनका अनुसार पालिकामा संक्रमित र आशंकितलाई सम्बन्धित वडाका जनप्रतिनिधिहरूले निगरानी गर्ने व्यवस्था मिलाइएको छ । उनले सिम्तामा पछिल्ला दिनमा संक्रमितको संख्या घट्दो क्रममा रहेको जानकारी दिए ।
कोरोना संक्रमणले यतिबेला कर्णाली आक्रान्त छ । यहाँ दैनिक सयौंको संख्यामा कोरोना संक्रमित पुष्टि हुने गरेका छन् । संक्रमणको जोखिमलाई नियन्त्रण गर्न एक महिनादेखि सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय संक्रमण दरमा केही कमी आए पनि जोखिम भने अझै उच्च छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।