५८ संक्रमित आईसीयूमा

कर्णालीमा कोरोना भाइरस ‐कोभिड–१९) का ५८ जना संक्रमित आईसीयूमा उपचाररत छन् । प्रदेशका विभिन्न कोरोना विशेष अस्पतालमा ती संक्रमितहरूको उपचार भइरहेको छ । पछिल्ला दिनमा सिकिस्त बिरामीको संख्यामा केही कमी आएको अस्पतालहरूले जनाएका छन् । वैशाख अन्तिम सातातिर आईसीयूमा झण्डै एक सय हाराहारीमा कोरोनाका सिकिस्त बिरामीहरूको उपचार भइरहेको थियो । जेठ महिना लागेयता संक्रमण समेत नियन्त्रणउन्मुख भएको सरकारी अधिकारीहरूले बताएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिले सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, बुधवार कर्णालीमा तीन सय ३१ जना कोरोना संक्रमति थपिएका छन् । एक हजार एक सय १२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा एक सय २२, सल्यानमा ६८, रुकुम–पश्चिममा २९, दैलेखमा २५, कालीकोटमा १७, जाजरकोटमा १५, मुगुमा सात, हुम्लामा ६, जुम्लामा पाँच, डोल्पामा दुई र कर्णालीमा रहेका अन्य प्रदेशका १३ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार चार सय ५६ पुगेको छ । बुधवार थप चार जनाको मृत्यु भएको छ । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २१ पुगेको छ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०७८, बिहीबार ०५:०१