संविधान संशोधनको प्रस्ताव राष्ट्रघाती छ : खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने बताएका छन् । आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको नेकपा एमाले प्रदेश न‌म्बर ६ को कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले कार्यान्वयन नगर्दै संशोधन गर्दा संविधान प्रतिगामी हुने बताए ।

उनले भने, ‘अहिले संविधान संशोधान होइन, कार्यान्वयनको पक्षमा जानुपर्छ ।’ खनालले सरकारमाथि वाह्य पक्षको दबावमा संविधान संशोधन गर्न लागेको आरोप लगाएका छन् ।  संविधान निर्माण सवैको पक्षको सहमतिमा हुन नसक्ने भन्दै उनले मधेसका वहुसंख्यक जनताले संविधान स्वीकार गरेको दाबी गरे । एकाध केही मधेसीहरु असतुष्ट हुनु स्वभाविक भएको उनले बताए ।

उनले भने, ‘हिमाल, पहाड, तराईलाई समेटर संविधान जारी भएको छ । कसैले भन्दैमा वा चाहँदैमा संशोधन हुने छैन ।’ उनले संविधान संशोधानका विषयमा प्रमुख प्रतिपक्ष एमालेसँग सरकारले कुनै छलफल नगरेको बताए ।

अहिलेको संविधान गतिशील संविधान भएको भन्दै उनले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दा अपरिवर्तनीय व्यवस्था गरिएको खण्डमा त्यो जडतावद्ध संविधान हुन जाने भएकाले मुलुकको आवश्यकता र जनताको आकांक्षा बमोजिम संविधान संशोधन गर्न सकिने ढोका खुल्ला राखेको समेत बताए । उनले भने, ‘यसको अर्थ कुनै पनि बेला यो संविधान संशोधन हुन सक्दछ भन्ने नै हो, तर पहिले संशोधन केका निम्ति र त्यसको आवश्यकता हो कि होइन, त्यो सावित गर्नुपर्दछ ।’

मुलुकलाइ विखण्डनतर्फ लैजाने गरी संशोधानको प्रस्ताव ल्याइएकाले त्यसलाइ असफल गराएरै छोड्ने उनले बताए । खनालले अहिलेको सरकारले दर्ता गरेको संविधान संशोधानको प्रस्ताव राष्ट्रघाती भएको बताए ।

प्रकाशित मितिः   १७ मंसिर २०७३, शुक्रबार १६:५३