नेपाल २१ रनमा अलआउट, भारतसँग ९९ रनले पराजित

 महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । र, सबै खेल हारेर घर फर्किने भएको छ ।

बैंककमा भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । यसअघि श्रीलंकाविरुद्ध २३ रनमा आउट भएको थियो । सन् २००७ मा एसीसी महिला क्रिकेटको फाइनलमा नेपालले २६ रन बनाएको थियो, जुन यो प्रतियोगिता अघिको न्यून स्कोर थियो ।

तर, भारतविरुद्धको खेलमा नेपालले अर्को खराब रेकर्ड बनायो । नेलपालका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । कतिसम्म भने नेपालका कुनै पनि ब्याट्सवुमनले बनाएको व्यक्तिगत रन भन्दा अतिरित्त रन धेरै रह्यो ।

नेपालले जोडेको २१ रनमा ७ अतिरिक्त छ । जबकी सबैभन्दा धेरै रन बनाउने सरिता मगरले ६ रन जोडिन् । ज्योति पाण्डे, करुणा भण्डारी र रुविना क्षेत्री २/२ रनमा आउट भइन् भने सीता राना मगर र रोसनी बोहोराले १/१ रन जोडिन् ।

नेरी थापा, निरा राजोपाध्याय, शोभा आले र संगीता राई शून्यमै आउट भइन् । सरस्वती कुमारी शून्यमै नटआउट रहिन् ।
भारतकी पुनम यादवले ३ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो । उसको सुरुवात औसत रह्यो । २० रन जोड्दा अहिले विकेट गुमाएको भारतले एक समय ६९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर, शिखा पाण्डे र हर्मनप्रित कौरले छैटौ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरिन् । पाण्डे ३९ र कौर १४ रनमा अविजित रहिन् ।

नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक्एक विकेट लिइन् ।

प्रकाशित मितिः   १७ मंसिर २०७३, शुक्रबार १२:५९