चिउरी प्रशोधन मेसिन जडान

साझा बिसौनी संवाददाता
सुर्खेत, १ चैत । 
देउती हर्बल उद्योग सुर्खेतले चिउरीको बिजुला प्रशोधनका लागि अन्याधुनिक मेसिन जडान गरेको छ । उद्योगले जीआइजेड इन्क्लुडसँगको साझोदारीमा मेसिन खरिद गरी जडान गरेको हो । 
उक्त मेशिनले २४ घण्टामा एक टनसम्म चिउरीको बिजुलालाई प्रशोधन गर्नसक्ने जनाइएको छ । बिजुलीको माध्ययमबाट सञ्चालन हुने उक्त मेसिन चिनियाँ मिनयाङ गुएनाग्छीन इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीको रहेको छ । विभिन्न वनजंगलमा खेर गइरहेको चिउरीको बियाँलाई सङ्कलन गरी उक्त मेसिनमार्फत् प्रशोधन गर्न सकिने बताइएको छ । देउती हर्बल उद्योग सुर्खेतका विभिन्न सहकारी तथा व्यक्तिहरूको शेयर लगानीमा स्थापना भएको उद्योग हो । हाल यस उद्योगसँग अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जीआईजेड इन्कुलुडले साझेदारी गरीरहेको छ । हाल उद्योगमा झण्डै ४५ टन चिउरीको बिजुला प्रशोधन गर्नका लागि विभिन्न सहकारी तथा व्यक्तिहरूसँग खरिद गरी सङ्कलन गरीइएको छ । 
उद्योगका अध्यक्ष डिल्ली पाण्डे, शेयर सदस्यहरू केदार शर्मा, पञ्चरत्न शर्मा, चन्द्रबहादुर बिसी, पर्शुराम कँडेल र सूर्यनारायण पुरीको सहभागितामा सोमवार उक्त मेसिन जडान गरिएको छ । उक्त मेसिन सञ्चालन पश्चात् उद्योगबाट उत्पादित चिउरीको घ्यू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिक्री गर्न सकिने उद्योगले जनाएको छ । यसको बजार खोज्न पनि जीआईजेड इन्कुलुडले नै सहयोग गर्ने जनाइएको छ । 
प्रकाशित मितिः   २ चैत्र २०७२, मंगलवार ०६:०२