रेम्डिसिभिर औषधि खरिद प्रक्रिया थालियो

कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि औषधि र मेडिकल अक्सिजन खरिद तथा बिरामीको हवाई उद्धार गर्न १३ करोड ८० लाख बजेट निकासा गर्ने प्रदेश सरकारले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि खरिद प्रक्रिया थालिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित बिरामीलाई उपचारमा प्रयोग हुने औषधि खरिदका लागि सामाजिक विकास मन्त्रालयलाई आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएको हो । सोही अनुसार रेम्डिसिभिरलगायत आवश्यक औषधि खरिदका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि औषधि र मेडिकल अक्सिजन खरिद तथा बिरामीको हवाई उद्धार गर्न १३ करोड ८० लाख बजेट निकासा गर्ने प्रदेश सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले खरिदको काम अगाडि बढाएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बिहीवारदेखि टेण्डर प्रक्रिया सुरू भएको जानकारी दिए । उनका अनुसार औषधि विभागले तोकेको रेटमा कुनै सप्लायर्सले दिन नसक्ने भएपछि टेण्डरबाट खरिद प्रक्रिया अघि बढाइएको छ ।

‘औषधि चाडै आपूर्ति गर्ने गरी काम भइरहेको छ,’ उनले भने । कर्णाली सरकारले अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट छुट्याएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले अक्सिजन कन्सन्ट्रेटरका लागि पाँच करोड ४५ लाख, रेम्डिसिभिर औषधि खरिदका लागि एक करोड र कोरोना संक्रमितको हवाई उद्धारका लागि एक करोड रूपैयाँ दिने निर्णय गरिएको छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७८, आईतवार ०५:००