ग्रामीण दिनचर्या सहज

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रणका लागि अधिकांश जिल्लाहरूमा हिँड्डूल लगायतका गतिविधि लामो समयदेखि ठप्प छन् । कर्णालीका १० वटै जिल्लामा यतिबेला निषेधाज्ञा गरिएको छ । सुर्खेतमा निषेधाज्ञाको झण्डै एक महिना पुग्नै लाग्यो । कोरोनाको दोस्रो लहर सुरू भएपछि गएको वैशाख १४ गतेदेखि जिल्लाभर लागु गरिएको निषेधाज्ञाको २६ दिन पुगेको । स्थानीय प्रशासनका अनुसार अझै एक साता (जेठ १५) सम्म निषेधाज्ञा जारी रहने छ ।

यो अवधिमा बजार तथा सहरी क्षेत्रमा अत्यावश्यक बाहेकका काममा मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाइएको छ । यातायात, सार्वजनिक स्थल तथा व्यापार–व्यवसायहरू बन्द छन् । जसले गर्दा मानिसहरूको दिनचर्या नै असहज बनेको छ । सहरी क्षेत्रहरू ठप्प प्रायः भए पनि ग्रामीण भेगमा भने चलहपहल निकै छ । यहाँ निषेधाज्ञाले कुनै प्रभाव पारेको छैन । ग्रामीण क्षेत्रको दैनिकी सामान्य अवस्थाकै जस्तो चलिरहेको छ । यतिबेला किसानहरू खेतीपाती र मेलापातमा व्यस्त छन् ।

वीरेन्द्रनगर–१५ रतुका शक्तिबहादुर थापाले अहिले गाउँमा खेतीपातीकै कामको चटारो भएको बताए । उनी भन्छन्, ‘हाम्रोतिर निषेधाज्ञाको कुनै प्रभाव छैन । पातलो बस्ती भएकाले मानिसहरूको भिडभाड पनि हुँदैन । किसानहरू आफ्नै खेतबारीमा व्यस्त छन् ।’ उनले गाउँमा कोरोनाको त्रास पनि नभएको सुनाए ।
३८ वर्षीय थापाले गाउँमा व्यावसायिक मौरीपालन र फलफूल खेती गरेका छन् । उनको बिहान उठेदेखि साँझसम्म खेतीपाती र घरधन्दामै समय बित्छ । निषेधाज्ञाले आफूहरूलाई कुनै फरक नपरेको थापा बताउँछन् ।

‘कागती र अनार खेतीमा मलपर्सो गर्ने र मौरीको हेरचाह गर्नमै दिन बित्छ,’ उनले भने । उनका अनुसार किसानलाई खेतीपातीको समयमा मल बिउ र कृषि सामग्री तथा खाद्यवस्तु सहज उपलब्ध भए अन्य समस्या छैन । मकै लगाउने सिजन आएकाले बारीमा मल बोक्ने र जोत्ने काम पनि चलिरहेको उनले बताए ।

गाउँमा छरिएर रहेको बस्ती र सबै किसान खेतबारीमै व्यस्त हुने भएकाले निषेधाज्ञाको प्रभाव ग्रामीण क्षेत्रमा नपरेको हो । गाउँमा दिन बिताउन कहाँ जाउँ भन्ने चिन्ता समेत छैन । यतिबेला किसानलाई खेतीबालीको चटारो छ । दैलेखको गुराँस गाउँपालिका–६ तल्लो नयाँखर्ककी नन्दा केसीको दैनिकी घरको धन्दासँगै बाख्रा गोठालो जाँदैमा बितेको छ । बिहान उठ्ने खाना पकाउने र दिउँसो भएपछि बाख्रा लगेर गोठालो जान्छिन् उनी । ‘निषेधाज्ञा होस् या लकडाउन हामीलाई केही फरक पर्दैन । सधैंको दैनिकी उस्तै हो, केही फेरिएको छैन,’ नन्दाले भनिन् ।

कोरोनाको संक्रमणको जोखिम समेत गाउँमा कम भएको उनले बताइन् । ‘बाहिरबाट त्यति कोही आउँदैनन् । गाउँमा भिडभाड हुने गतिविधि पनि केही हुँदैनन्,’ उनले भनिन्, ‘त्यसैले यहाँ संक्रमणको जोखिम पनि कम छ ।’ किसानहरूलाई रोगभन्दा खेतबारी र वस्तुभाउकै चिन्ता बढी भएको नन्दाले बताइन् ।

दुर्गम ग्रामीण क्षेत्र मात्र होइन वीरेन्द्रनगरभित्रकै कतिपय वडाहरूमा निषेधाज्ञाले छोएको छैन । वीरेन्द्रनगरको गढी, रतु, गपर्न, करैखोलालगायतका ठाउँमा निषेधाज्ञाको कुनै प्रभाव नदेखिएको हो । वीरेन्द्रनगर–१३ दाहालडाँडाका रेश्मीलाल पौडेलले आफूहरूको दैनिकी खेतीकिसानी र पशुपालनमै बितेको बताए । खेतबारीमा मल बोक्ने, गोठालो जाने र घाँस दाउरा गर्दै दिन बिताइरहेका पौडेल र उनका छरछिमेकीलाई न निषेधाज्ञाले काममा बाधा पुगेको छ न त कोरोना संक्रमणको नै त्रास छ । उनीहरू सामान्य अवस्थाजस्तै कृषि कर्ममै रमाएका छन् ।

ग्रामीण जनजीवन सहज भए पनि बजार तथा सहरी क्षेत्रमा संक्रमणको जोखिम उच्च छ । रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण झन् मानिसहरूको जनजीवन कष्टकर बनेको छ । बन्दाबन्दीका कारण मजदुरहरूलाई गुजरा चलाउन मुस्किल छ । एकातिर रोग र अर्कोतिर भोकको चिन्ताले उनीहरू पिरोलिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरसहित बाक्लो जनघनत्व भएका ठाउँहरूमा जोखिम उच्च देखिएपछि संक्रमणको चेनब्रेक गर्न स्थानीय प्रशासनहरूले निषेधाज्ञा गरेका हुन् । निषेधाज्ञाका कारण पछिल्ला दिनहरूमा संक्रमण केही नियन्त्रण भएको समेत सरकारी अधिकारीहरूको दाबी छ । वैशाख अन्तिम सातासम्म दैनिक अत्यधिक संक्रमित भेटिने गरेकोमा जेठ लागेयता भने त्यो संख्या घट्दो क्रममा छ भने संक्रमण जित्नेहरू पनि बढ्दै गएका छन् ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७८, आईतवार ०५:००