प्राथमिकतामा जनताको जीवन

कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टसहित फैलिएको दोस्रो लहर नियन्त्रणउन्मुख छैन । संक्रमणदर र मृत्युदर दिनहँु बढ्दो क्रममा छन् । विश्व स्वास्थ्य संगठनले समेत संक्रमणका हिसाबले नेपाल अझै उच्च जोखिममा रहेको चेतावनी दिइसकेको छ । तर रोकथाम तथा नियन्त्रणका पर्याप्त प्रयास भएका छैनन् । अहिलेसम्म पनि सीमित संख्यामा परीक्षण, होम आइसोलेसनमा बस्न सुझाव, अक्सिजन दिनुपर्ने भएमा मात्र अस्पताल आउन आग्रहमै सीमित छ कोरोना नियन्त्रण योजना । अझ आवश्यक अक्सिजनकै समेत अभाव छ । यसकै कारण मृत्यु बढेको छ ।

नेपालमा गत फागुनदेखि नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर भित्रिएको थियो तर पूर्व तयारी नहुँदा यसले तीव्र गतिमा फैलिने मौका पायो । कमजोर स्वास्थ्य प्रणाली यसको मुख्य कारण हो । पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, औषधी उपचार, परीक्षणको व्यवस्थापन, नियन्त्रणको समग्र योजनामा सरकार असफल रह्यो । मुलुकमा अहिले तीन तहका सरकार भए पनि तीनवटै तहका सरकार यसमा चुके । ध्यान पु¥याउन सकेनन् । हेलचक्य्राइँ गरे । त्यही लापरवाहीले आजको अवस्था सिर्जना भएको हो भन्दा अन्यथा हुँदैन । तर दुःखद कुरा के छ भने अहिले पनि राजनीतिक नेतृत्व महामारीप्रति गम्भीर भएको छैन । मुलुकको राजनीति नै महामारीग्रस्तजस्तो बनेको छ । दलहरू सत्तास्वार्थको खेलमा तल्लीन छन् । त्यसो त यो राजनीतिक संक्रमण भनौं वा हलचल गत पुष ५ को संसद् विघटन पश्चात सुरु भएको हो । अर्थात् उत्कर्षमा पुगेको हो । जसबाट अहिलेसम्म पनि मुलुक मुक्त हुन सकेको छैन । थप चरम संकटउन्मुख देखिएको छ ।

जनताको जीवन रक्षा, स्वास्थ्य उपचार राज्यको प्राथमिकतामा पर्नुपर्ने हो । सरकार यसमा केन्द्रित हुनुपर्ने हो । अन्य राजनीतिक दल र तिनका नेतृत्वकर्ताको प्रभावकारी भूमिका हुनुपर्ने हो । तर यतिबेला राजनीतिक दलहरू र सरकारका प्राथमिकता सरकार गिराउने वा टिकाउनेजस्ता कार्यमा केन्द्रित भएका छन् । जनताको कुनै मतलब छैन । अस्पतालमा बेड नपाएर बाहिर चौरमै उपचार गराइरहेका बिरामी, अक्सिजन नपाएर छट्पटाइरहेका कोरोना संक्रमित उनीहरूको चासोमा विषय बन्न सकेका छैनन् । प्रत्येक टोलटोलमा, गाउँबस्तीमा मानिसहरू संक्रमित छन् तर परीक्षण गर्न पाएका छैनन् । उपचार नपाएर मरिरहेका छन् । अस्पतालहरूमा बेड छैन, अक्सिजन छैन, खुला चौरमा बिरामीहरू पालो कुरेर छट्पटाइरहेका छन् । अहिलेको समय राजनीतिक खेल खेल्ने बेला होइन । जुनसुकै राजनीतिक परिस्थितिलाई थाती राखेर जनताको जीवन जोगाउन केन्द्रित हुने समय हो । अझै पनि राजनीतिक दाउपेचमै लाग्ने, सत्ताकै झगडामा अल्झिराख्ने हो भने कोरोना संक्रमण नियन्त्रण हुने सम्भावना छैन । जोखिम झन बढ्नेछ । अवस्था नियन्त्रणबाहिर जानेछ । त्यसैले अहिले जो जहाँ छौ, जुन ठाउँमा उभिएका छौं त्यहीबाट कोभिड महामारीको विरुद्धमा एक जुट भएर लाग्नु अपरिहार्य छ । यसमा सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका उत्तिकै
महŒवपूर्ण छ ।

प्रकाशित मितिः   १० जेष्ठ २०७८, सोमबार ०५:००