अस्पताल बाहिरका ‘फ्रन्टलाइनर’
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा अत्यधिक फैलिएको खबर विभिन्न सञ्चार माध्यमहरूमा आइरहँदा प्रतिमा खत्रीको मनमा एक खालको डर उब्जियो । डर मात्रै होइन उनको मनमा अन्योलता पनि थियो । कुनै पनि औषधी पत्ता नलागेको भाइरस प्रतिकार्यका लागि विकसित देशहरू त हार खाएको समयमा नेपालमा यसको प्रभाव कस्तो होला ? यो संक्रमणसँग कसरी लड्ने होला ? आफू स्वयम् एक स्वास्थ्यकर्मी हुनुको नाताले पनि उनको मनमा यस्ता अनेक प्रश्न उब्जिरहन्थे ।
मनमोहन मेमोरियल सामुदायिक अस्पताल काठमाडौंमा नर्सिङ्ग अफिसरको रूपमा कार्यरत खत्री विगत दुई वर्षदेखि अध्ययन बिदामा छिन् । तर पनि स्वास्थ्य क्षेत्रमा आउने समस्याले प्रतिमालाई निद्रा लाग्दैन । देशलाई आपत् परेको बेलामा घरमै बसेकोमा प्रतिमालाइ पछुतो पनि छ । आफूमा भएको ज्ञान र सीपलाई महामारीका समयमा प्रयोग गर्न नपाउँदा उनलाई दुःख लाग्छ । छिमेकी र आफन्त संक्रमित भएको समयमा सेवा गर्ने बाहेक देशका अन्य नागरिकलाई उनले सेवा गर्न पाएकी थिइनन् । तर मनमा केही गर्नपाए वा गर्नुपर्छ भन्ने हुटहुटी चलिरहन्थ्यो ।
पहिलो चरणको कोरोना भाइरसको संक्रमण प्रतिकार्यका लागि पनि उनले नसोचेकी होइनन् । तर के गर्ने ? र कसरी गर्ने ? भन्ने बारेमा सोच्दा–सोच्दै संक्रमण नियन्त्रणउन्मुख देखियो ।
केही समय यसै बित्यो । तर लगत्तै फेरि नयाँ भेरियन्टसहित कोरोना भाइरसको दोस्रो लहर फैलिन थाल्यो । यसले थप चिन्तित बनायो । महाराजगञ्ज नर्सिङ्ग कलेजमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत प्रतिमासहित उनका साथीहरू दैनिक यो विषयमा कक्षाकोठामै छलफल गर्थे ।
दैनिक संक्रमितको संख्या बढ्दै थियो । मृत्यु हुनेहरूको संख्या पनि थपिदै थियो । अवस्था भयावह हुँदै थियो । निजी स्वास्थ्य संस्थाहरूले कोरोना संक्रमित बिरामी भर्ना नलिएपछि सरकारी अस्पतालहरू भरिएर थप नयाँ बिरामीले बेड नपाउने अवस्था आयो । दैनिक हजारौंको संख्यामा नयाँ संक्रमित थपिने र सयौंको संख्याले ज्यान गुमाउन थालेपछि वैशाख २६ गते कानुन दिवसको दिन कक्षा कोठामा यस विषयमा छलफल भयो तर निष्कर्ष निस्किएन ।
केही नागरिकहरू कोरोना संक्रमण भइहाले के गर्ने, कहाँ जाने, कसलाई भेट्ने, घरमै बस्दा कसरी सावधानी अपनाउने, खानेकुराहरू कसरी मिलाएर खाने भन्ने विषयमा अन्योलमा थिए । होम आइसोलेसनमा बसेकाहरूको अवस्था पनि उस्तै । फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा नागरिकहरूलाई थप त्रसित र भयवित बनाउनेगरी पोष्ट भइरहेका थिए । यसले गर्दा पनि नागरिकहरू आत्तिएर अस्पताल दौडिहाल्ने अवस्थाले झनै समस्या उत्पन्न गराएको थियो । अस्पताल जानैपर्ने सिकिस्त बिरामीले बेड नपाउने र सामान्य संक्रमित आत्तिएर अस्पताल दौडिएको अवस्थालाई उनीहरूले नियालिरहेका थिए ।
यसैबीच एक दिन कलेजमा सँगै पढ्ने विद्यार्थीहरूको मेसेन्जर ग्रुपमा दुर्गा सापकोटाले ‘कोभिड विशेष नर्स समूह’को योजनाबारे सुनाइन् । ग्रुपमा भएका २७ जनामध्ये यो अभियानमा रुचि राख्ने पाँच जनाको फेरि छुट्टै ग्रुप बन्यो । बिहान दश बजे सापकोटाले दिएको योजनाबारे दिउँसो २ बजे नै छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा तयारी भयो ।
देशभरका सातवटा प्रदेशमा एक–एक जना संयोजक र एक–एक जना काउन्सेलेर (परामर्शदाता) तोक्ने निर्णय भयो । कर्णाली प्रदेश संयोजकमा प्रतिमा खत्री रहिन् र उनकै कलेजमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत मोना दाहाल काउन्सेलरको रूपमा रहिन् । राष्ट्रिय संयोजकको जिम्मेवारी दुर्गा सापकोटाले लिइन् । अनि सुरु भयो, ‘कोभिड विशेष नर्स समूह’को देशव्यापी अभियान ।
प्रतिमा खत्री कर्णालीकै भएकाले उनले आफ्नै प्रदेश रोजिन् । उनीहरूले संयोजक र काउन्सेलर तोक्दा स्थानीय नागरिक नै हुनुपर्ने भनी छलफल गरेका थिए । स्थानीयको भाषा नबुझ्दा समस्या होला भन्ने उनीहरूलाई लागेपछि सम्बन्धित क्षेत्रकै व्यक्तिलाई संयोजक र काउन्सेलरको रूपमा जिम्मा दिइयो । सँगै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्ड (प्रोटोकल)सहित उनीहरूले समेत केही प्रोटोकल तयार गरे ।
यसरी नर्स समूह त बन्यो तर उनीहरूलाई आधिकारिकताको डर भयो । ‘हामी नर्स हौं, तपार्इंहरूको सेवा गर्न चाहन्छौं’ भन्दा कसैले पत्याउने कुराको विश्वास नभएपछि उनीहरू सामाजिक सञ्जालको सहयोग लिन थाले र लाइभ आउन थाले । फेसबुक लाइभमा उनीहरूले समूह निर्माण गर्नुको उद्देश्य र कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा पनि जानकारी गराउँदै गए । उनीहरूको लाइभ हेरेरै धेरै नागरिकहरू लाभान्वित भए । सँगै अन्य देशभरबाट अन्य धेरै नर्सहरू समेत अभियानमा जोडिए ।
अहिले उक्त समूहको देशैभरका सातवटा प्रदेशमा संयोजक र काउन्सेलर तोकिएको छ । साथै हरेक जिल्लामा एकजना संयोजक समेत तोकिएको छ । स्वयम्सेवक रूपमा उनीहरूले कोरोना भाइरस संक्रमितहरूलाई काउन्सिलिङ गर्छन् । संक्रमणबाट बच्ने के गर्ने, संक्रमण भइहालेमा के गर्ने, कसरी आत्मबल बढाउने, घरमै उपलब्ध खाना कसरी मिलाएर खाने, कस्तो अवस्थामा अस्पताल जाने, कुन चिकित्सकलाई भेट्ने सम्मको सल्लाह फोनबाटै दिने गरेका छन् । यसले एकातर्फ नागरिकहरू लाभान्वित भइरहेका छन् भने अर्कोतर्फ अस्पतालको चाप समेत घटेको छ । उनीहरूले होमआइसोलेसनमा बसेकाहरूलाई समेत निरन्तर परामर्श दिइरहेका छन् । यसबाट जनशक्ति अभावमा स्वास्थ्य सेवा र सल्लाहबाट वञ्चित नागरिकहरूले समेत सेवा पाउने उनीहरू बताउँछन् ।
आवश्यक चिकित्सकहरू तथा तालिम प्राप्त मनोविमर्शकर्ताहरूसँग समेत बिरामीको समन्वय गराइदिने गरी आफूहरूले काम गरेको खत्रीले सुनाइन् । विस्तारै स्थानीय तह र वडासम्म नर्स समूहलाई विस्तार गरी नागरिकहरूमा चेतना वृद्धि गर्ने समूहको उद्देश्य छ । नर्सहरू डाक्टरको मातहतमा मात्रै होइन आफै नेतृत्व लिएर स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्न पनि अभियानको थालनी गरिएको उनी बताउँछिन् ।
‘कर्णाली प्रदेशका धेरै नागरिक स्वास्थ्यको सहज पहुँचमा छैनन्’ उनी भन्छिन् ‘चेतनाको समेत कमी भएको अवस्थामा हाम्रो परामर्शले टेवा पुग्नेछ ।’
देशैभर हालसम्म चारसय पचास भन्दा बढी बिरामीले उनीहरूबाट परामर्शसहित सेवा लिइरहेको कर्णाली संयोजक खत्रीले बताइन् । कर्णालीका कालीकोट र जुम्लाबाहेक ८ जिल्लाबाट नर्सहरू यो समूहमा जोडिएका छन् । जिल्ला तहमा समेत अभियान सञ्चालन भइरहेको छ । हालसम्म कर्णालीका ४० जनाभन्दा बढी कोरोना संक्रमितले उनीहरूसँग परामर्श लिइसकेको र १२ जना अहिले पनि नियमित निगरानीमा रहेको उनले जानकारी दिइन् ।
समूहको काम प्रभावकारी बन्दै गएपछि थप सहयोग पनि जुट्न थालेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नर्स तथा सामाजिक सुरक्षा महाशाखाले उनीहरूलाई कामका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाटै स्वयम्सेवक रूपमा चलेको अभियानलाई सरकारले सहयोग गर्ने र यसको लागि नेपाल टेलिकमसँग समन्वय गरी फोन कल निःशुल्क गर्ने तयारी भएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भएकी प्रतिमाले स्वास्थ्य क्षेत्रमा नै १७ वर्ष बिताइसकेकी छन् । उनी नर्स भनेका डाक्टरहरूको सहयोगी मात्र हुन् भन्ने चेतनालाई चिर्न चाहन्छिन् । यसका लागि नर्सहरू स्वयम्ले नेतृत्व लिएर काम गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल नर्सिङ्ग काउन्सिलले दिएको प्रमाणको आधारमा आफूहरूले बिरामीहरूलाई परामर्श दिइरहेको उनको तर्क छ । नर्सहरू हरेक समयमा फ्रन्टलाइनर भए पनि त्यसको जस डाक्टरले लिने गरेको उनको अनुभव छ । आफूमा भएको क्षमतालाई महामारीका बेला प्रयोग गर्न सके नागरिककै हित हुने उनी सुनाउँछिन् । यो अभियानमा कर्णालीका सबै नर्सहरूलाई स्वयम्सेवक भावनाले जोडिन प्रतिमाको आग्रह छ ।
समूहका लागि कर्णाली प्रदेश काउन्सेलेरको रूपमा मोना दाहालले काम गरिरहेकी छिन् । काठमाडौंमा घर भएकी मोना यसअघि चार वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा काम गरेको कारण भावनात्मक रूपमा कर्णालीसँग नजिक छन् । यसकारण पनि उनले कर्णाली रोजिन् । ‘यस्तो अभियानमा किन पछि पर्नु ?’ उनी भन्छिन् ‘म अहिले कतै कार्यरत छैन तर सेवा गर्न चाहन्छु, त्यसैले यो अभियानमा जोडिएँ ।’
होम आइसोलेसनमा बसेकाहरूलाई कसरी आत्मबल बढाउने, परिवारका अन्य सदस्यहरूमा संक्रमण हुन नदिन अपनाउनुपर्ने मापदण्ड, खानपान कसरी ध्यान दिने लगायतका विषयमा संक्रमितहरूलाई परामर्श दिनेगरेको दाहालले बताइन् । आफूले जानेको र सकेको परामर्श आफैले दिने र थप आवश्यक पर्ने भएमा मनोपरामर्शकर्ताहरूसँग समन्वय गराइदिने काम समेत गर्ने गरेको उनले जनाइन् । समूहबारे थाहा पाएपछि संक्रमितहरू आफैले फोन गर्छन् । त्यसपछि आफूहरूले नियमित ‘फ्लोअप’ गर्ने गरेको मोना बताउँछिन् । संक्रमित कुन अवस्थामा छ र कस्तो अवस्थामा अस्पतालमा जाने भन्ने धेरैलाई थाहा नहुँदा अस्पतालका बेडहरू भरिएको उनको अनुभव छ ।
जिल्ला अस्पताल हुम्लामा कार्यरत सोनिषा रावत पनि यो समूहसँग जोडिएकी छिन् । उनी हुम्ला जिल्ला संयोजक हुन् । बिएस्सी नर्सिङ्ग सकेकी सोनिषासँगै कार्यरत टेल्साङ डोल्मा लामा पनि अभियानमा जोडिएकी छन् । ‘यस्तो अभियान सञ्चालन गर्नेबारे हामीले छलफल गरेका थियौं’ सोनिषाले भनिन् ‘तर हामी अन्योलमा थियौं । फेसबुकमा कोभिड विशेष नर्स समूहबारे जानकारी पाएपछि अभियानमा हामी पनि जोडिएर काम गरिरहेका छौं ।’ हुम्ला जस्तो सूचना र सञ्चारको सहज पहुँचमा नभएको जिल्लाका लागि फोन मार्फत संक्रमितलाई काउन्सिलिङ्ग गर्न, कोरोनाबारे जानकारी दिन सहज भएको उनले बताइन् । कोरोना कसरी सर्छ, यसको लक्षण, परीक्षण कहाँ हुन्छ लगायतको चेतना समेत नागरिकलाई नहुँदा कोरोना झनै फैलिएको उनको तर्क छ । संक्रमितलाई थप हौसला दिने लगायत होमआइसोलेसनमा बसेकाहरूलाई खानपानमा ध्यान दिनुपर्ने, संक्रमण फैलिन नदिन अपनाउनुपर्ने उपाय, कस्तो अवस्थामा अस्पताल जाने लगायतका सल्लाह दिने गरेको रावतले बताइन् ।
प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार ०५:०२
साझा बिसौनी ।