ज्यान दाउमा राखेर सेवा
जोखिम मोलेर अरुको ज्यान बचाउने पेसा हो, स्वास्थ्यकर्मी । जो अहिले आफ्नो ज्यान दाउमा राखेर अरुको जीवन बचाउने प्रयत्न गरिरहेका छन् । स्वास्थ्य संकटको बेला छ । असामान्य अवस्थामा बिरामीको हेरचाह गर्नु पक्कै सहज छैन । अस्पतालमा अनेक समस्या र अभाव हुँदा स्वास्थ्यकर्मीहरू पनि असुरक्षित छन् । कोरोना संक्रमित बिरामीको चाप दिनहँु बढ्दो छ । स्वास्थ्य संस्थाहरूमा जनशक्तिको अभाव छँदैछ स्वास्थ्य सामग्री समेत पर्याप्त छैनन् । महामारीमा थुप्रै अभाव र अप्ठ्याराहरूका बीच पनि उनीहरू दिनरात नभनी सेवा दिइरहेका छन् । स्वास्थ्यकर्मीहरू आफ्नो प्रवाह नगरी महामारीसँग जुध्दै कोरोना संक्रमितको उपचारमा खटिएका हुन् ।
कर्णाली प्रदेश यसै पनि स्वास्थ्य पूर्वाधारमा कमजोर छ । त्यसमाथि कोरोना संक्रमणले निम्त्याएको महामारी नियन्त्रण गर्नुपर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको काँधमा छ । समुदायस्तरमा व्यापक बनेको संक्रमण नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै छ । संक्रमण र मृत्युदर बढ्दो छ । अस्पतालका बेड भरिभराउ भएका छन् । मेडिकल अक्सिजनको उस्तै हाहाकार छ । दोस्रो लहरको संक्रमणमा कर्णाली आक्रान्त छ । प्रदेश राजधानी वीरेन्द्रनगर लगायतका क्षेत्र कोरोना ‘हटस्पट’ बनेका छन् । यहाँ दैनिक सैयौं नयाँ संक्रमित थपिन्छन् भने दर्जनको हाराहारीमा ज्यान जान्छ ।
प्रदेश अस्पताल कर्णालीकै ठूलो अस्पताल हो । जहाँ अधिकांश कोरोना संक्रमितहरूले उपचार हुन्छ । त्यहीँ कार्यरत छन् डाक्टर दुर्गा थापा । गत वर्षदेखि उनी कोरोना संक्रमितको उपचारमा खटिएकी छन् । बिरामीको उपचार र हेरचाह गर्ने क्रममा थापा पनि संक्रमित भइन् । उनले कोरोना जितेर नियमित काममा फर्किइन् । ‘आइसोलेसनमा ड्यिूटी परेको समयमा २४सैं घण्टा खट्नुपर्छ । संक्रमणको दोस्रो लहर आएसँगै जटिल प्रकृतिका बिरामीहहरू धेरै आइरहनु भएको छ,’ उनी भन्छिन्, ‘हामीले आराम गर्न थाल्यौं भने उहाँहरूको उपचार कसले गर्छ ?’
स्वास्थ्यकर्मीहरू व्यक्तिगत स्वास्थ्य सुरक्षामा सावधान रहे पनि संक्रमित हुने जोखिम उच्च हुन्छ । उनीहरू संक्रमितको हेरचाहमा खटिँदा जतिबेला पनि संक्रमण सर्न सक्छ । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाएर सावधानी अपनाउँदै सेवामा खटिएका हुन्छौं । तै पनि संक्रमणको जोखिम त भइरहन्छ,’ डा. थापा भन्छिन् ।
धेरैजसो कोरोना संक्रमित बिरामी सिकिस्त अवस्था भएपछि मात्र अस्पताल भर्ना हुन्छन् । बिरामीको स्वास्थ्य अवस्था देख्दा स्वास्थ्यकर्मीहरू आइसोलेसन कक्ष छोडेर हिँड्न सक्दैनन् । बिरामीको दर्दनाक अवस्था देखेर मनले छोड्न मान्दैन । उपचारमा लागिरहँदा खान सुत्न समेत उनीहरू बिर्सन्छन् । ‘कहिलेकाहीँ बिरामी र आफ्न्तको छट्पटी देखेर साह्रै दुःख लाग्छ । आखिर जीवन के नै रहेछ भन्ने हुन्छ,’ डा. थापाले भनिन् । सबै प्रयासका बाबजुद् जब बिरामीको ज्यान जान्छ त्यतिबेला निकै पीडा हुने उनी बताउँछिन् । डा. थापाले गतवर्ष रूकुम–पश्चिममा पुगेर कोरोना संक्रमित बिरामीको एक महिना सेवा गरेकी थिइन् ।
हेल्थ असिस्टेन्ट सपना पहाडी कोरोनाको महामारी सुरू भएदेखि नै बिरामीको उपचारमा खटिएकी स्वास्थ्यकर्मी हुन् । उनी पनि प्रदेश अस्पतालको कोरोना वार्डमा इञ्चार्जको रूपमा कार्यरत छन् । अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरूको संख्या बढी छ । ‘बिरामीको छट्पटीले एक छिन पनि आराम गर्न मन लाग्दैन,’ उनी भन्छिन्, ‘बिरामी निको भएर फर्कदा मात्र हाम्रो मन खुसी हुन्छ ।’ दैलेख अस्पतालको आइसोलेसनमा खटिएकी डा. रेश्मा श्रेष्ठले एक वर्ष अघि मात्र पढाइ सकेर काम सुरु गरेकी हुन् । उनी सुरूवातीमै कोरोना संक्रमितको उपचारमा खटिनुपर्ने भयो । सीमित स्रोत साधनबाट उत्कृष्ट सेवा दिन आफूहरू लागिपरेको डा. श्रेष्ठ बताउँछिन् । कहिलेकाहीँ स्वास्थ्यकर्मीले बिरामीलाई अनेक प्रयास गर्दागर्दै पनि बचाउन सक्दैनन् । अवस्था निकै गम्भीर भएपछि अस्पताल आउँदा उपचारमा समस्या हुने गरेको उनले बताइन् । ‘कोरोनाको मुख्य उपचार भनेकै बिरामीको आत्मबल बढाउनु हो,’ स्वास्थ्यकर्मीले यसतर्फ ध्यान दिनुपर्छ,’ डा, श्रेष्ठले भनिन् । दैलेख अस्पतालको आइसोलेसनमा १०÷१० दिन खट्ने गरी स्वास्थ्यकर्मीको टिम बनाइएको छ । उनी १० दिन बिरामीको सेवा गरेपछि मात्र एक पटक घर जान पाउँछिन् ।
जिल्ला अस्पताल सल्यानको आइसोलेसन वाडमा खटिएका छन् अर्का स्वास्थ्यकर्मी जीवन पुन । उनी हेल्थ असिस्टेन्ट हुन् । आफूहरूले सीमित स्रोत साधनमा बिरामीको उपचार गरिरहेको उनले बताए । ‘संक्रमित र मृत्यु हुनेको संख्या पनि बढ्दै छ । बिरामीको चापले उपचारमा समस्या छन् । हामीले उपचारलाई व्यवस्थित र गुणस्तरीय बनाउने प्रयत्न गरिहेकै छौं,’ पुनले भने ।
प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार ०५:०५
साझा बिसौनी ।